नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता कर्माचार्यद्वारा मुगुमा १८७औं को रक्तदान


२० असार, मुगु । नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता, राष्ट्रिय रक्त सम्राट, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष प्रेम सागर कर्माचार्यले आज कर्णाली प्रदेशको मुगु जिल्लाको गमगढीमा आफ्नो १८७ औँ पटकको रक्तदान गर्नुभएको छ ।

शतक रक्तदाता कर्माचार्यले आफ्नो १८६औं पटकको रक्तदानको रेकर्ड तोड्दै मुगु जिल्लामा १८७ औ पटकको रक्तदान गर्नुभएको हो ।

कर्माचार्यले विभिन्न जिल्लामा ३/३ महिनामा जाँदै रक्तदान गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ “यसरी विभिन्न जिल्लामा गएर रक्तदान गर्नु भनेको त्यहाँका युवाहरूमा मानवीय जीवन बचाउनका लागि रक्तदान गर्नु नितान्त आवश्यक भएकोले युवाहरूमा रक्तदान गर्ने सचेतना वृद्धि होस् भन्ने हेतुले विभिन्न जिल्लामा गएर रक्तदान गर्दै आएको छु ।”

विशेष गरेर पहाडी जिल्लाहरूमा रगत उपलब्ध हुन निकै कठिन छ । त्यसैले म अनुरोध गर्न चाहन्छु कि १८ वर्ष उमेर पुगेका करिब ४५ किलो तौल भएका सम्पूर्ण युवाहरुलाई आफ्नो जन्मोत्सव सँगै रक्तदान गर्न हार्दिक अनुरोध गर्दछु । साथै दानमा दिएको रगतलाई बिरामी पक्षलाई निःशुल्क उपलब्ध गराउन म सरकारसँग पुन: जोडदार माग गर्दछु ।

त्यस्तै कार्यक्रममा स्थानीय स्वयंसेवी रक्तदाता बलि बहादुर बुढाले नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदातालाई मुगुमा १८७ औँ पटकको रक्तदान गर्नलाई आमन्त्रण गरिएको जानकारी दिनुभयो ।

स्मरण रहोस् शतक रक्तदाता कर्मचारीले यसभन्दा अघि कर्णाली प्रदेशकै सुर्खेत, जुम्ला, जाजरकोट लगायत देशका विभिन्न दुर्गम जिल्लाहरूमा युवाहरूलाई रक्तदानमा अभिप्रेरित गर्नका लागि रक्तदान गरिसक्नुभएको छ ।