
सुर्खेत । सिम्ता गाउँपालिका–६ स्थित जामुने बजार, राकममा बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको छ ।
हाम्रो सहर परियोजनाको अगुवाइमा गाउँपालिका, उद्योग वाणिज्य संघ सिम्ता, इलाका प्रहरी कार्यालय बादेपीपल, स्थानीय टोल विकास संस्था तथा स्थानीयवासीको सहभागितामा अभियान सञ्चालन गरिएको हो ।
बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियान अन्तर्गत विहीबार जामुने बजारको पिपल चौतारादेखि बजार क्षेत्रमा सरसफाइ गरिएकाे छ । अभियानमा सिम्ता गाउँपालिकाका प्रशासन अधिकृत टोपबहादुर राना, उद्योग वाणिज्य संघ भेरी सिम्ताका अध्यक्ष गंग ढकाल, इलाका प्रहरी चौकी राकमका प्रहरी सहायक निरीक्षक (सई) चेतन बुढा, वाइजीजीपीका कार्यकारी निर्देशक घनश्याम केसी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।
शुक्रबार राकम पुल बजार क्षेत्रमा सरसफाइ गर्ने कार्यक्रम रहेकाे र आगामी दिनमा हरेक हप्ता एक दिन सरसफाइ गर्ने अभियान रहेकाे हाम्राे सहर परियाेजनाका हरि देवकाेटाले जानकारी दिनुभयो । सरसफाइ अभियानले बजार क्षेत्रको स्वच्छता कायम राख्नुका साथै स्थानीयवासीमा सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्न र सामूहिक सहभागितामार्फत स्वच्छ वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



Prawash Kumar Shakya । १३ कार्तिक २०८३, बिहीबार १८:३४ बजे