बसपार्क नहुँदा सवारीसाधानसँगै यात्रुलाई सास्ती


3-2सुर्खेत, १० पुस । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा बसपार्कको समस्याले विकराल रुप लिएको छ । दैनिक हजारौं सवारी साधनको चाप भोग्दै आएको सदरमुकाम वीरेन्द्रनगरमा ५ वर्ष वितिसक्दा समेत बसपार्क निर्माण हुन नसक्दा सवारी साधनसँगै सर्वसाधारणले सास्ती खेप्नु परेको हो । बस पार्कको अभावमा सवारी साधानहरु अस्तव्यस्त रुपमा सडकमै पार्किङ्ग गर्ने क्रम बढ्दै जान थालेको छ । मिनि बस पार्क निर्माणमा वीरेन्द्रनगर नगरपालिकाको ढिलासुस्तीका कारण सवारी साधानसँगै यात्रुले दुःख उठाउनु परिरहको छ ।

नपाले विभिन्न समस्या देखाउँदै निर्माणधीन बस पार्क तोकिएकै समय भित्र बनाउन तर्फ ध्यान पु¥याउन सकेको छैन् । कर्णाली अञ्चलको मुख्य नाका र ६ नम्वर प्रदेशको प्रस्तावित राजधानी भएकाले वीरेन्द्रनगरमा वर्षेनी जनसंख्या बढ्ने क्रमसँगै यातायातको संख्यामा पनि उल्लेख्य मात्रामा बृद्धि भएको छ । सवारी साधनको चाप बढ्दै जाने तर बसपार्क नबन्ने गर्नाले यातायात व्यवसायीसँगै सर्वधारणलाई समस्या सिर्जना भएको हो ।सवारी साधनको चाप बढ्दै जाने तर व्यवस्थित बसपार्क बन्न नसक्नाले यो समस्याले वीरेन्द्रनगरमा विकरालरुप लिँदै जान थालेको छ । बसपार्क नहुँदा आफूहरुलाई ज्यादै समस्या भएको परेको काँक्रेविहार यातायात व्यवसायी संघका सचिव रमेश सापकोटा बताउँछन् । बाटोमा बसहरु राख्नु पर्दा विभिन्न र्दुघटनाहरु घट्ने गरेको सचिव सापकोटाको भनाइ छ ।

बस पार्क नभएकै कारण बजारमा अनियन्त्रित रुपमा पार्किङ्ग गर्नु पर्ने बाध्यता रहेको मध्यपश्चिमाञ्जल यातायात व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष दानबहादुर गुरुङ सुनाउँछन् । बस सडकमा रोक्दा ट्राफिक प्रहरीले कराउने र साइटमा रोक्दा व्यापारीहरुले ढुङ्गा लिएर आउने समस्या सृजना भएको उनले दुःखेसो पोखें । बसपार्क नहुँदा यातायात व्यवसायी र सवारी चालकलाई मात्र दुःख भएको छैन पैदल हिड्ने यात्रुहरुलाई पनि समस्या भएको स्थानीयको भनाइ छ । सडक छेउसम्म ढाकिने गरी बसहरु राखिदिनाले यात्रुलाई हिड्न समेत समस्या परेको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका कोषाध्यक्ष लक्ष्मी ओली बयकले बताईन् । उनले र्सार्वजनिक यातायातका साधनहरु मात्र होइन प्राइभेट सवारी साधनहरु समेत रोड नजिकै पार्किङ्ग गर्ने क्रम बढ्न थालेको उल्लेख गरिन् ।

त्यसैगरी वीरेन्द्रनगरमा बस पार्क नहुँदा मिनि सवारी साधानहरु पार्किङ्ग गर्न समस्या भएको मध्यपश्चिम जीप यातायात व्यवसायी संघका उपाध्यक्ष प्रकाश शाही बताउँछन् । जहाँ मिल्छ त्यही पार्किङ्ग गर्दै आइरहेको उनको भनाइ छ । जहाँ पायो त्यहीं बसहरु रोक्दा स्थानीय बासीको गालीसमेत खानु परिरहेको उनी बताउँछन् । यसरी सवारी साधनको चाप बढ्दै जाने तर व्यवस्थित बसपार्क बन्न नसक्नाले यो समस्या वीरेन्द्रनगरमा विकराल रुप लिँदै जान थालेको छ । बसपार्क नहुँदा सवारी चालकलाई ठूलो समस्या परेको यातायात मजदुर संगठनका पदाधिकारीहरुको भनाइ रहेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख हर्कबहादुर रावलले वीरेन्द्रनगरमा बसपार्क नभएर ट्राफिक व्यवस्थापन गर्न जटिल समस्या भएको बताए । बसपार्क निर्माण ढिलाईले रत्नराजमार्ग कै छेऊछाउ र सडकमै सवारी साधनहरु रोकेर राख्नाले एकातिर पैदल हिड्ने यात्रुहरुलाई समस्या परेको छ भने अर्को तर्फ ट्राफिक व्यवस्थापनमा कठिनाइ परेको उनको भनाइ छ ।

नगरपालिका, जिल्ला विकास समिति, उद्योग वाणिज्य संघले संयुक्त रुपमा मिलेर बसपार्कको समस्या समाधान गर्नमा पहल गर्नुपर्ने भएपनि कसैले यसप्रति चासो नदेखाएको सम्वद्धहरु बताउँछन् । दिनप्रतिदन सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा बसपार्कको आवश्यकता बढ्दै जान थालेको भएपनि सम्बन्धित निकायले अहिलेसम्म खासै चासो देखाएको पाइँदैन । अब पनि वीरेन्द्रनगरमा निर्माणधीन बसपार्क निमाणका लागि तदारुकताका साथ पहल गरिएन भने यो समस्या झन–झन् बढ्दै जाने स्थिति देखिन्छ । काँक्रेविहार यातायात व्यवसायी संघ, मध्यपश्चिम यातायात व्यवसायी संघ, मध्यपश्चिम जीप यातायात व्यवसायी संघ, देउती यातायात, बुलबुले यातायात र स्थानीय मिनी बस सेवा समिति अन्तगर्तका सवारी साधनहरु वीरेन्द्रनगरबाट विभिन्न स्थानहरुका लागि सञ्चालित छन् । यहाँबाट कर्णालीसँगै अछाम, जाजरकोट, नेपालगञ्ज, धनिगढी, पोखरा, काँकरभिट्टा, धरान, वीरगञ्ज र काठमाडौं लगायतका स्थानहरुमा जाने सवारी साधनहरु छुट्ने गर्दछन् । त्यसैगरी जिल्ला भित्रका विभिन्न ठाउँहरुका लागि समेत सदरमुकाम वीरेन्द्रनगरबाट वस तथा जीपहरु छुट्ने गर्दछन् ।

साभारः राराखबर अनलाइन