रक्त व्यवस्थापनसँगै मानवीय सेवामा गुल्मीका स्वयंसेवी रक्तदाता


गुल्मी, ८ कार्तिक । रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यसहित रक्त व्यवस्थापनमा सक्रिय नेपाल स्वयंसेवी रक्तदाता समाज, गुल्मी शाखाले मानवीय सेवाको दायरालाई फराकिलो बनाउँदै असहाय तथा विपन्न परिवारलाई सहयोग गरेको छ ।

समाजले मालिका गाउँपालिका–५, छाप निवासी चन्द्रबहादुर परियारको सात सदस्यीय परिवारलाई खाद्यान्न, लत्ताकपडा, न्यानो कपडा तथा शैक्षिक सामग्री प्रदान गरेको हो । रगत आवश्यक परेका बिरामीलाई रगत उपलब्ध गराउने अभियानसँगै आर्थिक तथा सामाजिक समस्यामा परेका परिवारलाई राहत पुर्‍याउने उद्देश्यले सहयोग कार्यक्रम सञ्चालन गरिएको समाजले जनाएको छ ।

मालिका गाउँपालिका–५ का वडाध्यक्ष रेखाकुमार जी.सी.को उपस्थितिमा समाजका गुल्मी शाखा अध्यक्ष ध्रुव पाण्डेसहितको टोलीले परिवारलाई सहयोग सामग्री हस्तान्तरण गरेको थियो ।

परिवारको दैनिक आवश्यकता पूरा गर्न चामल, दाल, चिनी, चियापत्ती, चाउचाउ, खानेतेल, आलु, आटा, साबुन तथा सर्फलगायतका सामग्री उपलब्ध गराइएको थियो । त्यसैगरी परिवारका सदस्यका लागि लत्ताकपडा, जाडोबाट जोगिन न्यानो कपडा, सिरक, डसना र तकियासमेत प्रदान गरिएको थियो । बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले कापी, कलम र झोला पनि उपलब्ध गराइएको समाजले जनाएको छ ।

समाजका अध्यक्ष ध्रुव पाण्डेले रक्तदान र रगत व्यवस्थापन संस्थाको प्रमुख उद्देश्य भए पनि समाजमा समस्यामा परेका नागरिकलाई सहयोग गर्नु पनि मानवीय दायित्व भएको बताउनुभयो । उहाँले चन्द्रबहादुर परियारको परिवारलाई आवश्यक सामग्री सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै अभियानमा साथ दिने सबै सहयोगीप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो “रगत आवश्यक परेका बिरामीलाई रगत उपलब्ध गराउनु हाम्रो मुख्य उद्देश्य हो । त्यससँगै दुःखमा परेका र असहाय परिवारलाई सक्दो सहयोग गर्नु पनि हाम्रो सामाजिक दायित्व हो,” उहाँले भन्नुभयो, “सबैको साथ र सहयोगमा आगामी दिनमा पनि यस्ता मानवीय सेवाका कामलाई निरन्तरता दिनेछौँ ।”

त्यस्तै वडाअध्यक्ष रेखाकुमार जी.सी.ले विपन्न परिवारलाई आवश्यक सामग्री सहयोग गर्नु प्रशंसनीय कार्य भएको बताउनुभयो । यस्ता अभियानले समाजमा आपसी सहयोग, सद्भाव र सहकार्यको भावना विकास गर्ने उल्लेख गर्दै उहाँले समस्यामा परेका परिवारलाई सहयोग गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्नेमा जोड दिनुभयो ।

यस अभियानमा ध्रुव पाण्डे, वीरबहादुर कार्की, विष्णु अधिकारी, झवी पाण्डे, चन्द्रमणि भण्डारी, देवराज छत्याल, उमाकान्त मरासिनी, दीपक रेग्मी, देवराज पाण्डे, हेमु श्रीस, शिव पाण्डे, आनन्द गैरे तथा रोजीलगायतले सहयोग गर्नुभएको थियो । समाजले सहयोग गर्ने सबै व्यक्ति तथा सहयोगी मनहरूप्रति धन्यवाद व्यक्त गरेको छ ।

कार्यक्रममा यमबहादुर परियार, देवराज पाण्डे, शिशिर रेग्मी, सन्देश मरासिनी, हिमाल पाण्डे तथा सफल पाण्डे, कमल बन्जाडे र भरत बराल लगायतको सहभागिता रहेको थियो ।