मुटुको चालसम्बन्धी रोग


-डा रोशन राउत

मुटुमा करेन्ट कसरी सञ्चालन हुन्छ भन्ने विज्ञानलाई मुटुको इलेक्ट्रिकल फिजियोलोजी भनिन्छ । मुटुको चालका लागि करेन्ट प्रवाह अनिवार्य हुन्छ । सामान्य किसिमले करेन्ट प्रवाह भएन भने मुटुमा समस्या आउन सक्छ । मुटुमा विद्युतीय तरंगको बहाव कसरी हुन्छ भन्ने प्रक्रियाको अध्ययनसम्बन्धी विज्ञान नै ‘इलेक्ट्रो फिजियोलोजी’ हो ।
 

मुटुको चाल वा धड्कनबारे सबैले सहजै बुझ्छन् । महत्वपूर्ण पक्ष मुटु धड्किन मुटुमा करेन्ट प्रवाह भएको हुनुपर्छ । मुटुमा करेन्ट बगेन भने धड्कन हुँदैन । मुटुको धड्कन हुनु भनेको मुटुमा करेन्ट बग्नु हो । जब मुटुमा विद्युतीय तरंगको प्रवाह हुन्छ, त्यसपछि मात्रै धड्कन हुन्छ ।

 

सामान्यतया एउटा स्वस्थ मुटुमा विद्युत् करेन्ट निस्किने एउटा ठाउँ हुन्छ, जसलाई हामी ‘साइनस नोड’ भनिन्छ । हरेक मानिसको धड्कन निस्किँदा साइनस नोडबाट निस्किन्छ । त्यो करेन्ट मुटुमा प्रवाह हुने पनि निश्चित बाटो हुन्छ । जब त्यहाँबाट करेन्ट निस्किएर बग्छ, त्यसपछि मुटु धड्किन्छ । जति चोटि त्यहाँबाट करेन्ट निस्किँदै गर्छ, त्यति चोटि मुटु धड्किन्छ । कसैको मुटु ६० पटक धड्किन्छ भन्नुको अर्थ त्यहाँबाट ६० पटक करेन्ट उत्पादन हुन्छ र त्यो करेन्ट बग्छ । प्रत्येक पटक करेन्ट उत्पादन भएर बगेपछि मुटु एकपटक धड्किन्छ ।

 

मानिस बाँच्न मुटु धड्किनुपर्छ । मुटु धड्किन करेन्ट बग्नुपर्छ । मानिस बाँच्न मुटुमा करेन्ट बग्नुपर्छ । अर्थात् करेन्ट नबगीकन मान्छे बाँच्दैन । मुटुमा करेन्ट प्रवाह हुन सकेन भने मुटु बन्द हुन्छ । मुटु स्वस्थ हुनका लागि मुटुमा सामान्य हिसाबले करेन्ट बग्नुपर्ने हुन्छ । करेन्ट आवश्यकताभन्दा बढी छिटो बग्यो भने पनि समस्या हुन्छ र एकदम कम बग्ने भयो वा नबग्ने नै भयो भने पनि समस्या हुन्छ । यो दुवै खालको समस्या मुटुको चालस“ग सम्बन्धित रोग हो । मुटुको चाल अर्थात् इलेक्ट्रो फिजियोलोजीस“ग सम्बन्धित रोग दुईवटा मात्रै हुन्छन् :

 

१. धड्कन आवश्यकताभन्दा बढी हुनु ।
२. धड्कन आवश्यकताभन्दा कम हुनु ।

यी दुई किसिमका रोग विश्वभर व्याप्त छ र नेपालमा पनि यस्तो समस्याबाट पीडित प्रशस्तै छन् । पहिले मुटुको धड्कन बढी हुने रोगमा जाऔँ । यी दुई किसिमका हुुन्छन् ।
 

१.१. शारीरिक आवश्यकताभन्दा बढी धड्किने समस्या (फिजियोलोजिकल)
१.२. रोगका कारण बढी धड्किने समस्या (प्याथोलोजिकल)

१.१ शारीरिक आवश्यकताभन्दा बढी धड्किने समस्या (फिजियोलोजिकल)

हामीलाई दौडिँदाखेरी मुटुको धड्कन बढ्नुपर्छ किनकि हाम्रो शरीरलाई सबैभन्दा बढी अक्सिजन चाहिने हुन्छ । शरीरको आवश्यकताअनुसार नै मुटुको धड्कन बढी भयो भने त्यसलाई फिजियोलोजिकल्ली बढेको भनिन्छ । जुन सामान्य प्रक्रियाअन्तर्गत नै हो र कुनै अनौठो होइन । डराउँदा, मानिसलाई ज्वरो आउँदा र दौडिँदा मुटुको धड्कन बढ्छ भने त्यो स्वाभाविक प्रक्रिया हो । यो अस्वाभाविक रुपमा ज्यादा बढ्ने हुँदैन । मिनेटमा १६०÷७० सम्म पुग्न सक्छ । त्यो पनि उमेर अनुसार फरक हुन्छ ।

१.२. रोगका कारण बढी धड्किने समस्या (प्याथोलोजिकल)

 

शरीरलाई आवश्यकता नहँुदा नहँुदै पनि धड्कन बढी भयो भने त्यसले शरीरलाई बेफाइदा गर्छ । प्याथोलोजिकल समस्यामा भने कुनै रोगका कारण मुटुको धड्कन बढ्छ । मानिस सामान्य अवस्थामा बसेको हुन्छ । मुटुको धड्कन बढ्नु आवश्यक नै छैन । तर, एक्कासि बढ्छ । धड्कनको मात्रा बढी भएपछि शरीरमा अक्सिजनको मात्रा बढी हुनुपर्ने हो तर पम्प गर्न सक्दैन । अनि झनै समस्या हुन्छ । मुटुको धड्कन बढी भयो भने कसैकसैको त ज्यान पनि जान सक्छ । यसलाई नै प्याथोलोजिकल समस्या भनिन्छ । प्याथोलोजिकल समस्यामा हार्ट बिट २०० देखि २५० र कसैकसैको ३०० सम्म पनि पुग्न सक्छ ।

 

यसरी मिनेटमा ३०० पटक धड्किँदा मुटुले राम्रोसँग पम्प गर्न सक्दैन । उदाहरणका लागि बेलुन । बेलुनलाई बिस्तारै फुकियो भने सहजै पम्प गर्न सकिन्छ । हतारोमा जबर्जस्ती पम्प गर्न खोजियो भने पम्प नै हँुदैन । मुटुको धड्कन पनि आवश्यकताभन्दा बढी भयो भने शरीरलाई बेफाइदा हुन्छ । त्यसले शरीरमा विभिन्न घातक समस्या निम्त्याउन सक्छ ।

 

मुटुको काम रगतलाई पम्प गरेर शरीरका विभिन्न भागमा पु¥याउनु हो । मुटुको धड्कन आवश्यकताभन्दा बढी भएको खण्डमा मुटुले राम्ररी पम्प गर्न सक्दैन भने रगतलाई राम्ररी शरीरको सबै भागमा पु¥याउन सक्दैन । त्यसपछि समस्या आउनु त स्वाभाविकै हो । मुटुलाई नै रगत नपुग्ने भएमा छाती दुख्न सक्छ । मस्तिष्कमा रगत नपुग्न सक्छ । रिँगटा लाग्न सक्छ । कोही रिँगटा लागेर बेहोसै हुन्छन् ।

धड्कन कम हुने समस्या

मुटुको धड्कन नै कम भएपछि मुटुले रगत कम पम्प गर्छ । अनि सम्पूर्ण शरीरमा रगतको मात्रा पुग्दैन । रिँगटा लाग्ने, रिँगटाले बेहोस होलाजस्तो हुने, बेहोसै हुने अथवा ज्यानै जाने खतरा हुन्छ । मुटुको पम्प कम भएर शून्यको हाराहारीमा पुगे त मानिस ज्यानै पनि जान सक्छ । मुटुको चाल कम हुने समस्या पनि दुई प्रकारका छन् ।
 

२.१. शारीरिक आवश्यकताभन्दा कम धड्किने समस्या (फिजियोलोजिकल)
२.२. रोगका कारण कम धड्किने समस्या (प्याथोलोजिकल)
२.१ शारीरिक आवश्यकताभन्दा कम धड्किने समस्या (फिजियोलोजिकल)

 

कतिपय अवस्थामा शरीरमा मुटुको चाल आवश्यकताभन्दा स्वतः कम हुन्छ । अलिकति कम भए पनि शरीरको आवश्यकता पुग्ने हुन्छ । एकदमै बढी शारीरिक परिश्रम गर्नेहरु जस्तै ओलम्पिकका धावकलगायतका खेलाडीको हार्ट बिट सामान्यभन्दा केही कम नै हुन्छ किनभने सामान्यभन्दा केही कम हार्ट बिट भए पनि उनीहरुको शरीरलाई पुग्छ । उनीहरुको शरीरले त्यसलाई एडप्ट गरिसकेको हुन्छ । त्यो फिजियोलोजिकल्ली धड्कन कम हो ।
६० भन्दा कम हार्ट बिट भयो भने हामीले त्यसलाई कम भन्छौँ । तर, खेलाडीलगायत कठिन शारीरिक परिश्रम गर्नेहरुको ४५/५० हुनु सामान्य हो । त्यो कमीले पनि उसको शरीरलाई कुनै फरक पर्दैन । उनीहरुको शरीरले त्यसलाई एडजस्ट गर्छ ।

२.२. रोगका कारण कम धड्किने समस्या (प्याथोलोजिकल)

रोगका कारण कम धड्किने समस्या (प्याथोलोजिकल्ली) भयो भने शरीरलाई असर हुन्छ । मुटुको पम्प गर्ने क्षमतामा कमी आएर सम्पूर्ण शरीरलाई आवश्यक पर्ने रगत पम्प गर्न सक्दैन । मुटुमा करेन्टको उत्पादन नै कम भयो भने यस्तो समस्या हुन्छ । साइनस नोडमा समस्या हुँदा उसले मिनेटको ६० पटक उत्पादन गर्नुपर्ने करेन्ट ३०/४० पटक मात्रै उत्पादन गर्न सक्छ । साइनस नोडबाट करेन्ट उत्पादन भयो तर तारमा अवरोध आयो या तारबाट करेन्ट बग्न सकेन भने पनि करेन्ट राम्ररी प्रवाह हुन नसकी मुटुको धड्कनमा कमी आउँछ । यसरी मुटुको धड्कन कम भएपछि मानिसमा रिँगटा लाग्ने, बेहोस हुने र त्यसबाट ज्यानै जाने खालका समस्या पनि देखिन सक्छन् ।

मुटुको चाल र रक्तचाप

उच्च र न्यून रक्तचापस“ग मुटुको धड्कनको सोझो सम्बन्ध हँुदैन । मुटुको रगत बग्ने नलीमा समस्या आयो भने हार्ट अट्याक वा कोरोनरी आर्टी डिजिज हुन्छ । मुटुमा रगत बग्ने नसास“ग जोडिएका समस्या कोरोनरी आर्टी डिजिज हुन् । मुटुको करेन्ट उत्पादन र प्रवाहमा समस्या आयो भने यो ‘इलेक्ट्रो फिजियोलोजी’ सम्बन्धित रोग हो ।
 

मुटुको फिजियोलोजीस“ग जोडिएका रोग मुख्यत दुई प्रकारका छन् । एउटा आवश्यकताभन्दा धड्कन कम हुने । करेन्टको उत्पादन कम हुनुलाई साइनस ग्राडी कार्डिया भनिन्छ । मुटुको करेन्टको प्रवाहमा समस्या आयो भने  त्यसलाई हार्ट ब्लक भनिन्छ । दुवै खालको समस्यामा मुटुको चाल कम हुन्छ तर कारण फरक छ । उत्पादन कम भएर मुटुको चाल कम हुन्छ भने त्यो साइनस ग्राडी कार्डिया हो । करेन्टको उत्पादन त भयो तर त्यसको प्रवाह भएन भने हार्ट ब्लक हो ।

कारण केके हुन् ?

मुटुको धड्कन कम हुने रोगका विभिन्न कारण छन् । उमेर बढी भएको मानिसमा करेन्ट उत्पादन गर्ने ठाउँ, करेन्ट प्रवाह हुने नसालगायतमा समस्या हुन सक्छ । त्यसलाई हामी ‘डी–जेनेरेटिभ चेन्जेज’ भनेर बुझ्छौँ । कसैलाई ‘कोरोनरी आर्टी डिजिज’पछि आफैँ यस्तो समस्या देखिन सक्छ । जन्मजात र वंशाणुगत समस्या पनि हुनसक्छ ।
 

धड्कन बढी हुनुमा जन्मजात नै मुटुमा करेन्ट बग्ने अतिरिक्त तार (नसा) भएका कारण पनि हुन सक्छ । करेन्ट बग्ने जुन सामान्य नसाबाहेक कसैकसैमा अर्को असाधारण नसा पनि हुन्छ । साधारण नसाबाट बग्दा ठीकै अवस्थामा धड्किने मुटु अर्को असाधारण नसाबाट समेत बग्न थालेपछि बढी धड्किन्छ ।
त्यसैगरी, हृदयघात भइसकेपछि मुटुका विभिन्न भागमा आफँै करेन्ट बग्ने च्यानल निर्माण हुन्छ । त्यसबाट कृत्रिम रुपमा करेन्ट बग्ने नसा बन्छन् । त्यसले मुटुलाई सामान्यभन्दा बढी धड्काइदिन्छ । यस्तो रोगमा मानिसको ज्यान जाने खतरा एकदमै बढी हुन्छ । हृदयघातपछि मुटुको चाल बढी लक्षणलाई ‘भ्यान्टिकुलर ट्याकिकार्डिया’ भनिन्छ । यस्तो लक्षण देखिएमा ज्यान जाने खतरा निकै बढी हुन्छ ।

 

खानपिनले पनि कतिपय अवस्थामा असर गर्छ । चिया, कफी बढी सेवन गर्नेको मुटुमा बढी धड्किने समस्या हुन्छ । अल्कोहल बढी सेवन गर्ने मानिसलाई ‘आर्टियल फिविलेज’को समस्या हुनसक्छ । मसलाजन्य र चिल्लो पदार्थ बढी खाएमा ‘कोरोनरी आर्टी डिजिज’ र त्यसबाट हार्ट अट्याकपछि मुटुको धड्कनस“ग सम्बन्धित रोग देखिन सक्छ ।

कहा छ सेवा ?

मुटुको चालको गडवडीवारे सबै किसिमका सेवा नेपालको गंगालाल अस्पतालमा मात्रै छ । सन् २००४ मा गंगालालमा सुरु भएको मुटुको चालसम्बन्धी विशेषज्ञ सेवा २०१६ सम्म आइपुग्दा पनि गंगालालमा मात्रै छ । त्यति बेला हामीले धेरै जटिल प्रकारका रोगको उपचार गर्दैनथ्यौँ ।

मुटुको धड्कन कम वा बढी हुने समस्याको उपचारका लागि हामीले २००४ देखि नै सेवा दिइरहेका छौँं । कम हुनेलाई पेसमेकर राख्ने र बढी हुनेलाई खुट्टाको नसाबाट मुटुमा अतिरिक्त करेन्ट प्रवाह गर्ने तार पत्ता लगाएर जलाएर हटाउने विधि अपनाइन्छ ।

कसरी गरिन्छ उपचार ?

मुटुको चाल आवश्यकताभन्दा कम भएमा चाल बढाउन पेसमेकर राखिन्छ । पेसमेकर एउटा ब्याट्री हो, जसबाट तार मुटुमा लगेर जोडिन्छ । साइनस नोड अर्थात् करेन्ट उत्पादन गर्ने ठाउँ, त्यसबाट करेन्ट उत्पादन हुन सकेन वा उत्पादन भएको करेन्ट राम्ररी प्रवाह हुन सकेन भने पेसमेकरबाट तार लगेर मुटुमा जोडिन्छ । त्यसपछि पेसमेकरले नै करेन्ट उत्पादन गर्छ । कृत्रिम करेन्ट उत्पादन गर्ने ठाउँ हामी बनाइदिन्छौँ ।

पेसमकरले मुटुको चाल स्वचालित रुपमा अवलोकन गरेर बसिरहेको हुन्छ । मुटुको चाल सामान्य अवस्थामा छ भने पेसमेकर निष्क्रिय हुन्छ, केही गर्दैन । मुटुको चाल घटेको छ भने सक्रियता देखाउँछ र करेन्ट उत्पादन सुरु गर्छ र मुटुलाई चलाउँछ ।
पेसमेकरको साइज सुरुमा निकै ठूलो थियो । त्यति बेला एक जनाले पेसमेकरको ट्रली नै लिएर हिँड्नुपर्ने अवस्था थियो । अहिले त्यसको साइज घटेर हाम्रो हातको तीनवटा आँैला बराबरको मात्रै हुन्छ । दाहिने या देब्रें काँधमुनि माथिल्लो छातीमा राखिन्छ र त्यहाँबाट मुटुमा तार लगिन्छ । पेसमेकर धेरै काम गर्नु परे कम र कम काम गर्नु परे धेरै समय टिक्छ । सामान्यतया सातदेखि १० वर्ष पुग्छ । त्यसपछि ब्याट्री मात्रै फेर्नुपर्छ । त्यो भनेको १५ देखि २० मिनेटको अपरेसनपछि सम्भव हुन्छ ।

 

मुटुको चाल बढी हुनुको कारण करेन्ट प्रवाह हुने अतिरिक्त नसा हो । त्यो मुटुको कुन भागमा छ, पत्ता लगाइन्छ । त्यो नसालाई रेडियो फ्रिक्वेन्सी इनर्जीबाट निष्क्रिय बनाइन्छ । त्यसपछि चाल सामान्य बन्छ । उत्पादन नै आवश्यकताभन्दा बढी भएमा रेडियो फ्रिक्वेन्सीबाट हटाइन्छ । यी सामान्य खालका मुटुका धड्कनका रोग हुन् । यस्ता रोग एक्सरेबाट नै पत्ता लगाइने गरिएको छ । जटिल प्रकारका रोगको उपचारका लागि मुटुको थ्री–डी स्ट्रक्चर हेरेर रोगको अध्ययन गर्नुपर्छ । त्यो उपकरण नेपालमा छैन, छिट्टै गंगालालमा ल्याउने प्रयास भइरहेको छ, केही महिनामा आउँछ । उपकरण भित्रिएपछि जटिल रोगको पनि उपचार गर्न सम्भव हुन्छ ।

शुल्क कति ?

पेसमेकरको उपचारका ७५ वर्षमाथिका व्यक्तिलाई निःशुल्क पेसमकेर दिन्छ । यसमा उमेर धेरै भएका बिरामी बढी हुन्छन् । यसलाई शुल्क तिर्नुपरे पेसमेकरको प्रकार हेरी एक लाखदेखि साढे दुई लाख रुपियाँसम्म पर्न सक्छ । उपचारका क्रममा ४५÷५० हजार रुपियाँ खर्च हुन सक्छ ।

अन्त्यमा, मुटुको चालको उपचारका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञ सेवा सम्भव छ । विदेश धाउनु पर्दैन । यही कोर्सको अध्ययनका लागि मैले क्यानडामा दुई वर्ष बिताएँ । त्यसपछि त्यहाँको नियमनकारी निकाय (नेपालको मेडिकल काउन्सिलजस्तै) रोयल कलेजले मलाई नै पहिलोपटक ‘इलेक्ट्रो फिजियोलोजिस्ट’ भनी प्रमाणपत्र प्रदान गरेको छ ।

 (राउत गंगालाल हृदयरोग केन्द्रका इलेक्ट्रो फिजियोलोजिस्ट हुन् ।)

साभारः स्वास्थखबर पत्रिका