उपेन्द्र यादवले बिबादित जिल्लालाई जोडेर गरे यस्तो निर्णय, मधेस–प्रदेशको मुख्यालय जनकपुर


जनकपुर, ९ कात्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको औपचारिक उद्घाटन गरेका छन् । नारायणी नदीको पूर्वदेखि झापासम्मको भूभागलाई समेटेर यसअघि नै घोषणा गरिएको मधेश प्रदेश समितिको कार्यालय यादवले जनकपुरमा उद्घाटन गरेका हुन् ।

THE TRITNA

पार्टीका वरिष्ठ नेता अशोक राईसहित सैयौँको संख्यामा उपस्थित नेता कार्यकर्तासँगै यादवले मधेश प्रदेश समितिको कार्यालय उद्घाटन गरे । मधेशमा दुई प्रदेश हुनु पर्ने मागसहित सीमांकनको प्रमुख एजेन्डा बनाएर आन्दोलनरत फोरम नेपालले महिना दिनअघि मधेश प्रदेश र थरुहट प्रदेश गरी मधेशमा दुई प्रदेश घोषणा गरेको थियो । जसमा, नारायणी नदीदेखि पूर्व झापासम्म मधेश प्रदेश र नारायणी नदीदेखि पश्चिम कञ्चनपुरसम्मलाई थरुहट प्रदेश घोषणा गरिएको थियो ।

फोरम नेपालकी उपाध्यक्ष तथा पूर्व मन्त्री रेणु यादव अध्यक्ष रहेको मधेश प्रदेशको सम्पर्क कार्यालय जनकपुरमा स्थापना गरिएको छ । सरकारले बनाएकोे ७ प्रदेश मध्ये महत्वपूर्ण मानिएको दुई नम्बर प्रदेश अन्तर्गत जनकपुरमा मधेश प्रदेशको कार्यालय स्थापनासँगै मधेशमा दुई प्रदेश हुनु पर्ने एजेन्डा झन् प्रभावकारी बनेको छ ।

मधेशमा दुई प्रदेश हुनु पर्ने भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको ब्यानरमा आन्दोलनरत सात वटा दल होऊन् वा संघीय गठबन्धनभित्रका २८ दल, सबैभन्दा पहिले उपेन्द्र यादव नेतृत्वको फोरम नेपालले मधेशमा औपचारिक रुपमा दुई प्रदेश घोषणा गरेको छ ।

सात प्रदेशको सीमांकन विभेदकारी तथा अवैज्ञानिक भएको भन्दै चर्को विरोध गर्दै आएको फोरम नेपालले मधेशमा दुई प्रदेश खाका सहित त्यसको कार्याविधि समेत तयार गरिसकेको छ ।

साभारः दैनिकनेपाल अनलाइन