‘त्रिवि उपकुलपतिको राजीनामाबारे विवाद’


चिकित्सा क्षेत्रमा सुधारको मागसहित २१ दिनयता आमरण अनसन बसिरहेका डा.गोविन्द केसीको टोली र सरकारी पक्षबीच भएको वार्ता शुक्रबार मध्यरातसम्म चलेपनि विना निष्कर्ष टुंगिएको छ।

दुवै पक्षले वार्ता सकरात्मक दिशातर्फ अघि बढेको बताएपनि त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको राजीनामाको विषयमा समस्या उब्जिएको जनाइएको छ।

केसीतर्फको वार्ता टोलीमा सहभागी डा.लिजन महर्जनका अनुसार, वार्ता शनिबार बिहान पनि जारी रहनेछ।

असन्तुष्टि

शनिबारै सोलिडारिटी फर डा.केसी अलायन्सको आह्वान राजधानीमा बृहत विरोध प्रदर्शन पनि हुंदैछ।

डा.केसीको समर्थनमा देशभरका सरकारी अस्पतालहरुमा चिकित्सकहरुले आकस्मिकबाहेकका सेवाहरु बहिस्कार गर्दै आएका छन्।

यसअघि डा.केसीको माग अनुरुप अनसनको २०औं दिनमा आएर चिकित्साशिक्षा अध्ययन संस्थान आइओएमका डीन केपी सिंहले शुक्रबार राजीनामा दिएका थिए।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको राजीनामाको विषयमा देखिएको मतान्तरका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको बताइएको छ।

आरोप

बीबीसीसंग कुरा गर्दै सरकारी वार्ताटोलीमा सहभागी शिक्षामन्त्री धनीराम पौडेलले डीनको राजीनामा आइसकेपछि पनि उपकुलपतिको बहिर्गमनको माग गर्नु उपयुक्त नहुने बताए।

उनले भने, “डीनको राजीनामा उपकुलपतिले अनुमोदन गर्नुपर्ने भन्ने अब त्यही उपकुलपतिको राजीनामा माग्नु ठीक कुरा भएन”।

“डा.केसीको वार्ता टोली डीनको राजीनामा आएपछि सहमति गर्ने भन्ने आफ्नो पूर्वप्रतिवद्धताबाट पछि हट्यो”।

तर डा.केसीको वार्ता टोलीका सदस्यहरुले उपकुलपति खनियाँको राजीनामा आफूहरुको सुरुवातदेखिकै माग भएको बताए।

डा.केसीले खनियाँको राजीनामा नआएसम्म आफूले अनसन नतोड्ने बताएको उनका सहयोगीहरुले बताएका छन्।

अनसनको तीन हप्ता नाघ्दै गर्दा डा.केसीको स्वास्थ्यअवस्था अत्यन्तै जटिल बन्दै गएको बताइएको छ।

साभार: विविसी