
जाजरकोट: लगातारको बर्षापछि जाजरकोट सदरमुकाम खलंगामा भीषण पहिरो गएको छ। घरको डिलैबाट पहिरो गएपछि सदरमुकाम खलंगाका दर्जनबढी घर उच्च जोखिममा परेका छन्।
पहिरोको कारण जाजरकोट डोल्पा सडकको खलंगा रिम्ना खण्ड अवरुद्ध भएको छ। भेरी नगरपालिका-३ थाप्लेस्थित भिरालो भित्तामा जमिन काटेर ठूला-ठूला पक्की घर निर्माण गरिएको, उक्त घर निर्माण गर्दा भित्ता काट्ने क्रममा आएको माटो जथाभावी फालिएको, सोही ठाँउबाट मोटर बाटो काटिएको, बाटो मुनि शौचालयका सेफ्टी टयाँकी निर्माण गरिएको र बाथरुमको पानी समेत जथाभावी फाल्दा पहिरो गएको हो।
पहिरोले बाटो बगाएपछि खलंगा रिम्ना हुँदै डोल्पा जाने यातायात सेवा अवरुद्ध भएको छ।पानी पर्ने बित्तिकै थप पहिरो जान सक्ने अवस्था भएकोले स्थानीय निकै चिन्तित भएका छन्।जमिन चिरा-चिरा परेको छ।
‘पानी परेपछि जति बेला पनि जमिन बग्न सक्छ’ स्थानीय शान्तबहादुर शाहीले भने, ‘हामी निकै चिन्तित छौ।’ पहिरो रोकथाम गरी मोटर बाटो सुचार गर्न र बस्ती सुरक्षित राख्न कम्तिमा ५ करोड रुपैँया लाग्ने प्राविधकहरुको भनाई छ। प्रहरीले पहिरोको उच्चजोखिमा परेका परिवारलाई सचेत रहन आग्रह गरेको छ।

साभारः अन्नपूर्णपोष्टअनलाइन



Prawash Kumar Shakya । १० भाद्र २०७४, शनिबार ०८:३७ बजे