प्रेस स्वतन्त्रताको पक्षमा सुर्खेतका पत्रकारको सामूहिक गिरफ्तारी, प्रशासन कार्यालयअगाडि धर्ना


सुर्खेत । प्रेस स्वतन्त्रता र पत्रकारको पेसागत सुरक्षाको माग गर्दै सुर्खेतका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय अगाडि सामूहिक गिरफ्तारी दिएर विरोध प्रदर्शन गरेका छन् ।

देशव्यापी आन्दोलनको कार्यक्रम अन्तर्गत बुधबार सुर्खेतका पत्रकारहरू जिल्ला प्रशासन कार्यालयमा भेला भई सामूहिक गिरफ्तारी दिएका हुन् । सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप, पत्रकारमाथिको धरपकड र सञ्चार क्षेत्रलाई आर्थिक रूपमा कमजोर बनाउने गतिविधि भएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

पत्रकारहरूले मिडिया हाउसको प्रवेशद्वारमा गाडी तेर्स्याएर अवरोध सिर्जना गरिएको, सञ्चारमाध्यममा धरपकड तथा पत्रकार गिरफ्तारी गरिएको घटनाप्रति आपत्ति जनाएका छन् । त्यस्तै, लोककल्याणकारी विज्ञापन बापतको रकम कटौती, श्रमजीवी पत्रकारलाई कामबाट निष्कासन तथा सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दी गर्ने प्रयास भएको भन्दै विरोध गरिएको हो ।

लोकतन्त्रको महत्वपूर्ण आधारका रूपमा रहेको स्वतन्त्र प्रेसमाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने भन्दै पत्रकारहरूले सञ्चारमाध्यमको स्वायत्तता कायम गर्न र पत्रकारलाई निर्भयपूर्वक काम गर्ने वातावरण बनाउन माग गरेका छन् ।

पत्रकारहरूले प्रेस स्वतन्त्रताको सम्मान, पत्रकारको पेसागत सुरक्षा सुनिश्चितता र सञ्चारमाध्यममाथि भइरहेको भनिएको हस्तक्षेप तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन् ।