अब जनताको लगानीमा जलविद्युतः एमाले अध्यक्ष अोली


२४ चैत्र काठमाडाैं-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको प्रत्यक्ष लगानीमा

जलविद्युत आयोजना सम्पन्न गर्ने घोषणा गरेका छन्।पार्टीको जारी पोलिटब्युरो बैठकमा अध्यक्षका हैसियतमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत ओलीले जनताको प्रत्यक्ष लगानीमा एक जलविद्युत आयोजना बनाउने महत्वकांक्षी योजना प्रस्ताव गरेका छन्। ‘सरकारका तर्फबाट गर्नुपर्ने कामको सन्दर्भ’ शिर्षकमा ओलीले उक्त बिषयलाई महत्वका साथ उल्लेख गरेर त्यसको तयारीमा लागेको पनि जनाएका छन्।

‘जनताको प्रत्यक्ष लगानीमा कुनै एउटा राष्ट्रिय गौरवको जलविद्युत आयोजना अघि बढाउन पहल गर्ने,’ ओलीले प्राथमिकता दिएका बिषयहरुमा भनिएको छ, ‘संघीयता कार्यान्वयनकालागि प्रदेश प्रमुखहरुको नियुक्ती र संविधानको व्यवस्था अनुरुपका आयोगहरु गठन गर्ने कामलाई प्राथमिकता दिने।’
पार्टी नेतृत्वमा नरहेका मन्त्रालयको काम पार्टीको तर्फबाट पनि संयोजन गर्ने कार्यलाई तिब्रता दिइने ओलीको भनाई छ। ‘बर्तमान सरकारको नेतृत्वमा तीनैवटा तहको निर्वाचन सम्पन्न गर्ने गरी तयारीको कामलाई अघि बढाउने’ जनाउँदै ओलीले स्थानीय निकाय निर्वाचनको तयारीमा लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।
तराई मधेसका जिल्लालाई केन्द्रित गरेर ओलीले बिभिन्न आयोजना निमार्णलाई तिब्रता दिइने पनि उल्लेख गरेका छन्। काठमाडौं–निजगढ फास्ट ट्रयाक, निजगढ र भैरहवा विमानस्थल, सुनकोशी–कमला, कालिगण्डकी–तिनाऊ, राप्ती–सुराई, शारदा–दाङ, भेरी–बबई डाइर्भसन जस्ता महत्वपूर्ण सिंचाई आयोजनालाई प्राथमिकतामा राखेर कार्य सम्पादन गरिने पनि उल्लेख छ।
साभारः नागरिक अनलाइन