७ दिने बुटिक तथा फेसन डिजाइन तालिम सम्पन्न


सुर्खेत । कर्णाली प्रोफेशनल स्किल डेभलपमेन्ट सेन्टर एण्ड टेक्निकल इन्स्टिच्युट प्रा.लि., वीरेन्द्रनगर–६, सुर्खेतको आयोजनामा सञ्चालन भएको ७ दिने बुटिक तथा फेसन डिजाइन तालिम आज सम्पन्न भएको छ।

वीरेन्द्रनगर–८ स्थित तेजु सिलाइ कटाइ सेन्टरमा भदौ ३ गतेदेखि सञ्चालन भएको तालिममा सहभागीहरूलाई फेसन डिजाइन तथा स्केचिङ, कपडा कटिङ तथा सिलाइ, बुटिक सञ्चालन तथा व्यवस्थापन लगायतका विषयमा व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो।

तालिमको समापन कार्यक्रममा सहभागीहरूले तालिम अवधिमा सिकेको सीप तथा सिर्जनशीलतालाई प्रयोग गर्दै तयार पारेका विभिन्न डिजाइनहरू समेत प्रस्तुत गरेका थिए। सहभागीहरूले तयार पारेको आई क्याप ब्लाउज र गाउन लगायतका डिजाइनहरू उनीहरूको सीप, मेहनत र सिर्जनशीलताको नमुनाका रूपमा प्रस्तुत गरिएको थियो।

समापन कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई ७ दिने बुटिक तथा फेसन डिजाइन तालिम सफलतापूर्वक सम्पन्न गरेको प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा तालिमका प्रशिक्षक पूर्णिमा शाहीले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै रोजगारी तथा स्वरोजगारको क्षेत्रमा अघि बढ्न सहभागीहरूलाई आग्रह गर्नुभयो। तालिम संयोजक श्रीमती तेजकुमारी चन्दले तालिमलाई प्रभावकारी रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रमको अध्यक्षता कर्णाली प्रोफेशनल स्किल डेभलपमेन्ट सेन्टर एण्ड टेक्निकल इन्स्टिच्युट प्रा.लि.का म्यानेजिग डाइरेक्टर प्रेमप्रकाश चन्दले गर्नुभएको थियो।

समापन समारोहमा प्रशिक्षक पूर्णिमा शाही र तालिम संयोजक तेजकुमारी चन्दलाई तालिम सञ्चालनमा पु¥याएको योगदानको कदर गर्दै मायाको चिनोसमेत प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले सीप विकासमार्फत युवाहरूलाई रोजगारी तथा स्वरोजगारसँग जोड्ने उद्देश्यले यस्ता व्यावसायिक तालिमलाई निरन्तरता दिइने बताउनुभयो।

तालिमको समापनसँगै सहभागीहरूले प्राप्त गरेको सीपलाई व्यावहारिक रूपमा प्रयोग गरी आफ्नै बुटिक व्यवसाय सञ्चालन, रोजगारी सिर्जना तथा आत्मनिर्भर बन्ने दिशामा अघि बढ्ने अपेक्षा गरिएको छ।

“सीप सिकौँ, आत्मनिर्भर बनौँ” भन्ने भावनाका साथ सम्पन्न तालिमले सहभागीहरूमा व्यावसायिक सीपसँगै आत्मविश्वास र उद्यमशीलताको विकासमा समेत योगदान पु¥याएको आयोजकले जनाएको छ।