एशियन लाइफद्धारा शिक्षाखर्च प्रदान


मिलन श्रेष्ठ
सुर्खैत,२६ पौष ।
जीवन वीमालाई भविष्यको आडभरोसा ठानी आफ्ना नावालक छोरा–छोरी र स्वयं आफ्नै जीवनवीमा गरेका वीरेन्द्रनगर ०४,सुर्खेत निवासी श्री अन्जनी गौतमको गत कार्तिकमा मृत्यु भएकोमा निजको नावालक छोरा लोकेश र छोरी प्रेरणालाई एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मासिक शिक्षा खर्च र पत्नी कृष्णकुमारी भट्टराई(गौतम)लाई जीवनवीमाको मृत्युदावी वापतको रु.१ लाख ८२ हजार एकसय रुपैया हस्तान्तरण गरेको छ । १६ बर्ष नपुन्जेलसम्म स्वर्गीय गौतमका नावालक छोरा लोकेशलाई प्रतिमहिना रु.१ हजार पचास रुपैया र छोरी प्रेरणालाई रु.१ हजार २ सयका दरले मासिक शिक्षा खर्च प्रदान गर्ने र निजहरुको वीमाको किस्ता समेत कम्पनीले व्यहोरिदिने जनाइएको छ ।
कम्पनीको घरदैलो वीमा रकम भुक्तानी कार्यक्रम बमोजिम वीरेन्द्रनगर वडा नं.४ स्थित गौतमकै घरमा पुगेर वीरेन्द्रनगर वडा नं.४ का वडाअध्यक्ष एवं समाजसेवी निलकण्ठ खनाल, कम्पनीका सहायक महाप्रबन्धक विजय पराजुली र कम्पनीका अधिकृत अभिकर्ता भरतकुमार पन्तले ३ वटा चेकद्धारा मृतकका परिवारलाई रकम भुक्तानी गरेका हुन् ।
कार्यक्रममा जीवनवीमाको आवश्यकता र महत्वको बारेमा प्रकाश पारिएको थियो भने जीवनवीमावाट प्राप्त रकमले आफना बालबच्चाको शिक्षादिक्षा र पालनपोषणमा ठुलो सहयोग हुने कुरा राहत रकम पाएपछि मृतकको पत्नी कृष्णकुमारीले बताएकी छन् । यसैगरी कम्पनीको सुर्खेत शाखाले हालसम्म जीवन गुमाएका वीमितका ३८ जना बालबच्चाहरुलाई प्रत्येक महिना मासिक शिक्षा खर्च प्रदान गर्दै आईरहेको छ भने छिटोछरितो तवरले घरदैलो जीवनवीमा रकम भुक्तानी गर्ने कार्यक्रम अन्तर्गत १७२ जनाको परिवारलाई मृत्युदावी रकम प्रदान गरिसकेको कम्पनीले जनाएको छ ।