समसायीकताका बिम्ब —यूवा गजलकार कृष्ण बिरही


कृष्णराज धमाला “अपूर्ण”

के सोचेर उसले कुन्नी, किन सुरु गर्यो

कसैले बिर्सेकै दिनबाट, सम्झीन सुरु गर्यो

आमाले ओढ्दै आएको, पुरानो पछ्यौरी जस्तो
जिन्दगी छेउछाउहरु बाट, च्यातिन सुरु गर्यो

अस्ति तिमि, हिजो भोक, आज फेरी निन्द्रा
समयले एकएक गरी, लिन सुरु गर्यो

                                                                  छाती दुख्दा यस्तो लाग्छ, म भित्रको मान्छे
के प्यासले छट्पटीयो कि दौडिन सुरु गर्यो

यि गजलका शेर हुन् कृष्ण बिरहीले सृजना गरेका । २०४८ साल असोज २५ गते कमलबजार नगरपालिका ७, अछाममा बुवा सर्प खत्री, आमा लक्ष्मी खत्रीको कोखबाट बिरहीको जन्म भएको हो । बिद्यालयमा अध्ययन गर्दा देखि नै साहित्य प्रति अभिरुचि राख्न बिरही पछिल्लो समयमा गजल, कविता, मुक्तक लगायतका बिधामा कलम चलाउदै आएकाछन्। स्नातक तह सम्मको अध्ययन गरेका उनी गजल बिधालाई प्रमूख बिधाका रुपमा स्थापित गर्ने अभियानमा लागि परेकाछन् । रेडियोमा प्रशारण हुने गजल कार्यक्रमहरु सुनेर गजल लेखन कार्यको थालनि गरेका बिरहीको कैफियत २ संयुक्त गजल संग्रहमा गजल छापीएकाछन् । २०६४ सालबाट औपचारीक रुपमा गजल लेखनमा प्रबेश गरेका बिरहीका फुटकर रचनाहरु प्रकाशित भएपनि एकल संग्रह भने प्रकाशित भएको छैन । हाल सम्म दुई सय बढि गजल लेखेर डायरीमा थन्क्याएका उनलाई संग्रह प्रकाशित गर्न हतारो भने भएको छैन, बरु अझै उत्कृष्ट अरु थप गजल लेख्छु र केही समय पछि मात्रै संग्रह प्रकाशित गर्छु भन्ने योजना छ उनमा ।
काठमाण्डौ देखी कालीकोट, चितवन देखि बाँके, बर्दिया, कैलाली लगायतका जिल्लाहरुमा आयोजना भएका बिभिन्न गजल बिशेष कार्यक्रममा सहभागीता जनाएर गजल लेखन र बाचनमा आफ्नाे जब्बर उपस्थिति देखाउन सफल बिरहीको गजल लेखन र बाचन गर्ने कार्यले निरन्तरता पाइरहेको छ । हतारमा सम्पादन गरीएको कुनै कामले सन्तुष्टि दिदैन, पछि पछुत्ताउनु भन्दा पहिला नै योजनाबद्ध रुपमा कार्यको थालनी गर्ने उनको राम्रो गुण हो ।

साहित्य भनेकै सम्वेदना हो भन्नेमा विस्वास गर्ने बिरही आत्म सन्तुष्टिका लागि संबेदना अभिब्यक्त गर्ने सहज माध्यमका रुपमा गजलका शेरहरुलाई प्रयोग गर्दै आएका छन्। बिरही नामले परीचित भएका कृष्णका गजलहरुमा बिरह भेटाउन मुस्किल मुस्किल हुन्छ । श्रृंगारीक सँगै अन्य समसामयीक बिषयहरुलाई बढि प्राथमिकता दिदै समकालीन गजलको माहोललाई पछ्याउन र त्यसैमा अभ्यस्त हुन आफू मन पराउँछन् । समय सान्दर्भिक बिषयबस्तुलाई टपक्क टिपेर गजलका शेरमा शब्दहरुको माला उनेर सुनाउने उनलाई जे ले मन छुन्छ, त्यही नै बिषयबस्तुमा परीणत हुन्छ ।
कविता, मुक्तकहरु पनि लेख्ने बिरहीलाई गजल लेख्न सहज लाग्छ । मनका भाव अभियब्यक्त गर्ने सरल माध्यम गजललाई रोज्दै आएकाछन् उनी । गजलमा यसरी आफ्ना र अरुका वास्तविक बिरह पोख्छन् कृष्ण ।

आफन्त हुँदोहो त कोही खास हुँदो हो
सपनाको उडान पनि एकनास हुँदो हो

जवान श्रीमतिलाई फलफूल किनेर पठायौ
रोेगी आमालाई पनि औषधिको आश हुँदो हो

तिमि सँधै जुन बनेर उदाई राख्ने भए त
जीवन पनि एक निष्चल आकाश हुँदो हो

शहरमा आमाको सम्झना यसरी आइपुग्छ
त्यो भन्दा कैंयौं पछि बतास हुँदो हो

छोरो उच्च शिक्षा हाँसील गरी स्थायी जागीर गरोस्, सम्पति कमाओस्, आफूहरुलाई सुख, सुबिधा देओस् सबैका आमाबुवा र परीवारका सदस्यहरुको प्रायः साझा नै चाहाना हुन्छ । बिरहीका परीवारका सदस्यहरुले गजल लेख्दै, बाचन गर्दै वाह । वाह । मात्रै पाइरहेको देख्दा दुःख लाग्दैन, बरु स्याबासी दिन हतारीन्छन् । बिरही भन्छन्, साहित्यिक यात्रामा घरपरीवारका सदस्यहरुको भरपुर सहयोग र समर्थन छ । मेरो लेखनीमा परीवारका सदस्यहरु गर्ब गर्छन् र स्याबासी दिन्छन् । उनि थप्छन् त्यसैले त मेरो साहित्यिक यात्राले निरन्तरता पाइरहेको छ, कतै कहिल्यै परीवारका कारणले ठेस सम्म लागेको छन, किन यो यात्रामा लम्किए भन्ने पछुत्तो पनि छैन उनलाई ।
करीब २ सय बढि गजल सृजना गरेका र यो सूचिलाई बढाउदै गएका बिरहीलाई गजल सुनाउनुमा जति आनन्द लाग्छ, त्यसको दोब्बर सुन्नमा । गजल लेखन र बाचन गरी सन्तुष्टि प्राप्त गर्ने बानी परेका उनी गजलका कारण सम्बन्धको धरातल फराकीलो भएकोमा मख्ख छन् । साथी भाई बढेका छन्, गजलकार भनेर चिन्छन्, एउटा शेर जाओस् भन्छन् म यहीमा सन्तुष्ट छु । यो भन्दा बढिको आशा पनि गरेका छैनन् उनले ।
कवि मन भएका बिरहीको बढि संगत पनि उस्ता उस्तै सँग छ । चासो छ, गजलमा आनन्द छ, जसका कारण बिरहीले गजलमा लगानी पनि गरेका छन् । आफू मरेर गएपनि ज्यूँदो बनिरहने अबिचलित यात्रामा लागिरहेका बिरही त्यतिबेला बिरही हुन्छन्, जतिबेला गजल लेख्न र सुनाउन पाउँदैनन् ।
गजलको यात्रालाई निरन्तरता दिएकै कारण गजल बिशेष राष्टिय कार्यक्रम महफिलमा पनि उनी सहभागी हुँदैछन् र यसले लेखनमा थप उर्जा थप्नेमा पनि उनि बिस्वस्त छन् । केही समय पछि संग्रह प्रकाशन गर्ने र केही गजल रेकर्ड गर्ने मेसो मिलाउदै गरेका बिरहीका गजल सुनेपछि दर्शक तथा श्रोताहरुले राम्रो छ भने पछि, अग्रजहरुले स्यावासी दिदै उत्प्रेरणा थपेपछि मख्ख हुन्छन्, र अझै तिखार्छन् शब्दबाणलाई ।
बिरहीका गजलहरुले अझैं मलजल र थप सिंचाई पाउन सके नेपाली गजलमा फक्रने, फूल्ने र यत्र तत्र सुवास फैलाउनेमा विस्वस्त हुने थुप्रै आधारहरु देखिन्छन् ।