बाँकेमा मोतीराम भट्टको १५९औं जयन्ति मनाईयो


पवन जायसवाल

१९ भाद्र, सुर्खेत । नेपालगञ्ज (बाँके) । भेरी साहित्य समाज नेपालगंज बाँकेले १ सय ५९औं मोती जयन्ती मनाएको छ । समाजले मोतीराम भट्टको जयन्ती मा रचना वाचन एवं तीज मिलन कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत कुमार रेग्मीले पानसमा दीप प्रज्यवलित गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । विशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरे, बिशिष्ट अतिथि भेरी साहित्य समाज केन्द्रिय समितिका निर्वतमान अध्यक्ष तथा सल्लाहकार हरि प्रसाद तिमिल्सिना, साहित्यकार तथा शिक्षाबिद् किरण आचार्य, महेन्द्र पुस्तकालय नेपालगञ्जका अध्यक्ष बलराम यादवले शुभकामना मन्तब्य दिनुभएको थियो ।

कार्यक्रममा प्राज्ञ सभा सदस्य शशीराम कार्कीले मोतीराम भट्टको जीवनीको बारेमा चर्चा गर्नुभएको थियो । त्यस्तै सर्वदा साहित्य प्रतिष्ठानका अध्यक्ष खगेन्द्र गिरि कोपिला, बालकृष्ण शर्मा, भरत बहादुर रानाभाट, भेरी साहित्य समाज केन्द्रिय समितिका कोषाध्यक्ष राज कुमार थारु, राम चन्दरु आचार्य, इन्दिरा गौतम, अवधी साँस्कृतिक प्रतिष्ठानका संस्थापक बिष्णुलाल कुमाल, भेरी साहित्य समाज केन्द्रिय समितिका सदस्य मीना बराल, चरित्रा शाह, मीना ढकाल, पंकज श्रेष्ठ, ब्रम्ह कुमार कृष्ण बहादुर रानाभाट लगायतले रचना वाचन गर्नुभएको थियो ।

समाज बाँकेका अध्यक्ष राजकुमार देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजकी उपाध्यक्ष इदिन्रा गौतमले स्वागत एवं सचिव गीता सुवेदीले सहजीकरण गर्नुभएको थियो ।

को हुन मोतीराम भट्ट ?

मोतीराम भट्टको जन्म १९२३ साल कुशेऔंसीका दिन भदौ २५ गते काठमाडौँको भोसीको टोलमा भएको थियो ।

मोतीराम भट्टको वंश कुमाउगढबाट आएको बताइन्छ । मोतीराम भट्ट पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवी भट्टका माईला सुपुत्रका रूपमा जन्मिनुभएको थियो । भट्टले ५ वर्षको उमेरमा अक्षरारम्भ गर्नुभएको थियो । पिता पं. दयाराम भट्ट र आमा रिपुमर्दिनीदेवी विशेष कामले काशी बस्दा भट्ट ६ बर्षको उमेरमा काशी जानुभएको हो । त्यसपछि मोतीराम भट्टको शिक्षाको प्रारम्भिक जग काशीमा नै बस्न थाल्यो । त्यहाँ उहाँ फारसी विद्यालयमा भर्ना हुनुभयो र त्यहीँ बस्दा बस्दै उहाँले फारसी र उर्दू पढ्नुभएको बताइन्छ ।

काशीमा उहाँको भेट भारतेन्दु हरिश्चन्द्रसँग भयो, भारतेन्दु मोतीराम झैँ पोख्त हुनुहुन्थ्यो । भारतेन्दुसँग गहकिलो सङगत गर्दै उहाँले नेपाली साहित्यको सेवा गर्नुभयो र पढाईमा पनि समर्पित भई रहनुभयो । मोतीराम भट्ट पछि फारसी, उर्दूका अतिरिक्त संस्कृत, हिन्दी, अङ्ग्रेजी भाषामा पनि दक्ष हुनुभयो । बनारसमा उहाँले हरिश्चन्द्र स्कूलमा अङ्ग्रेजी भाषा साहित्यको अध्ययन गर्नुभएको थियो ।