कर्णाली साहित्य समाजले शताब्दी पुरुष जोशीलाई सम्मान गर्ने


५ चैत्र, सुर्खेत । कर्णाली साहित्य समाज सुर्खेतले शताब्दी पुरुष हाम्रो लोकसंस्कृतिका लेखक संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मान प्रदान गर्न लागेको छ ।

शताब्दी पुरुष जोशीको हाम्रो लोकसंस्कृति कृतिले २०१३ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । नेपालमा तीन पटक मदन पुरस्कार पाउने एक मात्र व्यक्तित्व शताब्दी पुरुष जोशी हुनुहुन्छ । जोशीले कर्णालीलाई चिनाउनका लागि दिएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गर्न लागेको कर्णाली साहित्य समाजका सचिव सरस्वती पन्तले जानकारी दिनुभयो ।

यसैगरी २०७६ सालमा प्रकाशित भएका कृतिहरु मध्यबाट छनोट गरी ललित विष्टको कथासंग्रह “मोहपथ“लाई कर्णाली साहित्य समाज कृति पुरस्कार प्रदान गर्न लागिएको छ । यही चैत्र ११ गते शुभ होटलमा आयोजना गरिने विशेष कार्यक्रममा नगद रु ५० हजार राशीको कृति पुरस्कार प्रदान गरिने संस्थाका सचिव सरस्वती पन्तले बताउनुभयो । यो कर्णालीमै संस्थागत रुपमा स्थापना गरिएको अहिलेसम्मकै ठूलो पुरस्कार राशी हो ।

साथै कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार वरिष्ठ लोकसाधक प्रेमदेव गिरीलाई प्रदान गरिने भएको छ । यस पुरस्कारको राशी नगद रु २५ हजार छ ।

पुरस्कार तथा सम्मान अर्पणका बारेमा जानकारी दिने उद्देश्ले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा संस्था अध्यक्ष खगेन्द्र अधिकारीले भन्नुभयो, ‘कर्णाली साहित्य समाज गैरमुनाफा मूलक साहित्यिक संस्थाको रुपमा स्थापना भएको र यस संस्थाको उद्देश्य कर्णाली चिनाउँदै नेपाल भरी भाषा, साहित्यको विकास, संरक्षण र सम्बर्द्धनका साथै साहित्य श्रीबृद्धि गर्नु नै हो ।’

कला, भाषा र साहित्यको क्षेत्रमा योगदान दिनुहुने अग्रजको सम्मान विना उदियमान साहित्यकारहरुलाई प्रेरणा हुने भएकाले पनि सम्मान तथा पुरस्कारको महत्व रहेको बताउँदै भाषाको संरक्षण विना साहित्यको जगेर्ना गर्न सकिदैन र साहित्यको जगेर्ना विना संस्कृतिको पहिचान जोगाउन नसकिने भएकाले हामी भाषा साहित्यको संरक्षण र सम्वद्र्धनका लागि जुटिरहेका छौ अधिकारीको भनाई थियो ।

गतवर्ष कर्णाली साहित्य समाजले महेश थापाकृत मरीचिका कथा संग्रहलाई कर्णाली साहित्य समाज कृति पुरस्कार (रु ५० हजार राशिको) प्रदान गरेको थियो भने कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार (रु २५ हजार राशिको), बुद्धिसागरलाई र कर्णाली साहित्य समाज साधन सम्मान (ताम्रपत्रसहित) कवि श्यामललाई प्रदान गरेको थियो । कर्णाली साहित्य समाजले गरेको यस कार्यले नेपाली कला, साहित्य र भाषाको क्षेत्रमा एउटा ईंटाको काम गर्ने विश्वास गरिएको छ ।