आगो बाल्दै गजलकार इश्वर (भिडियो सहित)


असार १७, सुर्खेत ।

पछिल्लो समयमा गजल मार्फत आगो बाल्ने यूवा गजलकार इश्वर दाहाल पाख्रिबास १, धनकुटामा पिता गोबिन्दप्रसाद दाहाल र माता कमला दाहालको सुपुत्रको रुपमा २०५१ साल श्राबण २७ गते जन्मिएका हुन् ।

पाख्रिबास कला साहित्य समाजका सहसचिव इश्वर महफिलको १३ औ शृंखलामा सहभागीता सँगै सुर्खेतमा आयोजीत चार जना गजलकारहरुका गजल बाचनमा पनि सरीक भई सुर्खेतमा पनि आगो बाल्न सफल भएकाछन् ।

२०७३ सालको मेची कोशी गजल प्रतियोगितामा प्रथम स्थान हाँसील गरेका इश्वरका गजलहरु कैफियत २ मा समेत संग्रहित भएका छन् ।

क्यारिकेचरमा रुची भएका इश्वर पछिल्लो समयमा गजल बिधामा चर्चीत बन्दै गएकाछन् । मिजासीलो स्वभावका इश्वर उत्कृष्ठ गजल लेखनमा क्रियाशिल छन्, र कृति कहिले प्रकाशन गर्ने भन्ने टुंगोमा पुगेका छैनन् ।

दर्शकहरुको मन चोर्न सक्ने अब्बल क्षमता भएका इश्वर गजल लेखनका लागि इश्वरले नै बरदान दिएको हो भन्ने उनका श्रोताहरु पनि कम्ति छैनन् । यही रफ्तालाई आत्मसाथ गर्दै जानेहो भने इश्वरको नाम नेपाली गजल साहित्यमा अब्बल दर्जामा लेखीने कुरामा शंका गर्ने ठाउँ कम देखिन्छ ।

घाइते बनाएर छोडेको पनि काम आयो
आज बैशाखी टेकेर साथि मलाम आयो

रुपैया कमाउन साच्चै किस्मत चाहिदोरहेछ
गरिबको सहिद हुने बेला युद्दबिराम आयो

सबभन्दा घातक रोग के हो ? कसैले सोध्यो
प्रश्न नटुङ्गिदै दिमागमा तिम्रो नाम आयो

फेरि मेरै हातको अचानो पनि मागिरहेछ
सजिलै गर्दन थापिदिनुको परिणाम आयो

मान्छेको मनसंग पुरै दुनियाँले खेलिसकेछ
अचेल पसलका खेलौनाहरुको दाम आयो