प्रजातन्त्र दिवसको अवसरमा कालिकोटमा देउडा दोहोरी



बिस्नप्रसाद न्यौपाने
कालिकोट फागुन ७ गते ।
कालिकोट जिल्ला तथा समग्र कर्णाली अञ्चलमै देउडाको बिशेष महत्व छ । छोराको छैठी, ब्रतबन्ध, बिबाहदेखी देवताका पैैठसम्म जहाँ जतिबेला पनि देउडा दोहोरी नलगाए अर्थात देउडा नखेलेर यहाँका मानिसहरुलाई रमाइलै हुँदैन् । अझ त देउडा खेल नखेलेर, नहेरेर जात्राबाट आएपछि यहाँ रमाईलै भएन भन्ने गरिन्छ कर्णालीमा । देउडा यहाँको सांस्कृतिक कार्यक्रमको पहिलो प्रस्तुती र दर्शकहरुको पहिलो चाहाना पनि हो ।

हुँदा हुँदा नेपालमा एक सय ४ बर्षे राणा शासनको अन्त्य भई नेपाली जनताले अधिकार पाएको दिन फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पनि कालिकोटे स्थानिय नागरिकहरुको चाहाना अनुसार भव्य रुपमा कर्मचारी, पत्रकार तथा स्थानिय देउडा खेलाउडीबीच देउडा दोहोरी कार्यक्रमको आयोजना गरियो ।

देउडा खेलाडी पत्रकार तथा कर्मचारीद्वारा नायव सुब्बा धनबहादुर मल्ल, आदी न्यौपाने पुरुष तथा महिला तर्फबाट खाँडाचक्र निवासी स्थानिय देउडा खेलाउडी बिजा पाण्डे, निरु देवकोटा लगायतका देउडा खेलाउडाहरुले देउडा घम्साघम्सी खेले । उनीहरुले खेलेको देउडामा कालिकोटका स्थानिय नागरिकहरु राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा रमाए ।

जिल्ला निर्बाचन कार्यालय कालिकोटका निमित्त प्रमूख धनबहादुर मल्ल, जिल्ला कृषि विकास कार्यालयका नासु आदी न्यौपाने पुरुष तर्फा र खाँडाचक्र निवासी स्थानिय देउडा खेलाउडी बिजा पाण्डे र निरु देवकोटा महिलाको तर्फाबाट देउडा दोहोरीको नेतृत्व गरे । साथमा पत्रकार तथा नागरक समाज, कर्मचारी, स्थानिय महिला लगायतको सहभागीता थियो ।

उनीहरुले देउडा मार्फत प्रजातन्त्र दिवसको महत्व, नेपाली जनताले नेपालमा प्रजातन्त्र ल्याउन खेलेको भुमीका योगदान, राजनीतिक दलले खेलेको भुमीका, नेपालमा प्रजातन्त्र ल्याउन बलिदानी दिएका सहिदहरुको सम्मान, मुलुकमा प्रजातन्त्र आईसकेपछि नागरिकहरुले पाएका अधिकार, जनताको शासन जनताकै हातमा प्राप्त भएको उपलब्धी लगायतका बिषय बस्तुमा रहेर सवाल जवाफ गरे ।

पछिल्लो समय कालिकोटमा आन्दोलनका कार्यक्रमहरु र खुसीयालीका कार्यक्रमहरु तथा दिवसहरुमा समेत देउडा खेल खल्ने प्रचलन बढेको छ ।

पहिला पहिले छोराको छैटी, ब्रतबन्ध, बिबाहदेखी देवताका पैैठसम्म मात्र सीमित देउडा खेललाई अहिले छोरीको छैटी, बिबाह, दवाव मुुलक आन्दोलन, बिभिन्न प्रकारका दिवसहरु, खुसीयाली कार्यक्रमहरु, अन्य बिभिन्न प्रकारका पर्वहरुमा समेत खेल्न थालिएको हो ।

पहिलेका पीढिहरुले देउडालाई समाजको गहना बनाए जस्तै अहिले नयाँ पीढिहरुले पनि निरन्तरता दिदै आएका छन् । यद्यपी नयाँ पुष्ताको लगाब पहिलेको तुलनामा केही फरक हुँदा पुरानोे संस्कृतिको लोप हुनेहोकी भन्ने चिन्ता पनि बुढापाकाहरुलाई छ ।