भूकम्प प्रभावित बालिकाहरुलाई श्री ज्योति फाउण्डेशनद्वारा छात्रवृति वितरण


३० बैशाख,  जाजरकोट । श्री ज्याेति फाउन्डेसनले भुकम्प प्रभावित जाजरकाेट र रूकुम पश्चिमका भूकम्प प्रभावित छाेरीहरूलाई छात्रवृत्ति वितरण गरेकाे छ ।

फाउन्डेसनले आज (आइतबार) गत बर्ष कार्तिक १७ गते गएको भूकम्पबाट बढी प्रभावित जाजरकोट र रूकुम पश्चिमका तीन-तीन पालिकाका १५ जना छाेरीहरूलाई छात्रवृत्ति वितरण गरेकाे हाे । जाजरकाेटकाे भेरी नगरपालिका-१ रिम्नामा आयाेजित कार्यक्रममा जाजरकोटकाे बारेकाेट गाउँपालिकाका ३, नलगाड नगरपालिकाका २ र भेरी नगरपालिकाका ४ बालिकालाई छात्रवृत्ति वितरण गरिएकाे अध्यक्ष ज्याेति कटुवालले जानकारी दिनुभयो ।

त्यस्तै रूकुम पश्चिमकाे आठबीसकाेट नगरपालिकाका २, सानीभेरी गाउँपालिकाका २ र चाैरजहारी नगरपालिकाका २ छात्राहरूलाई वार्षिक छात्रवृत्ति वितरण गरिएकाे उहाँले जानकारी दिनुभयो । कार्यक्रममा १५ जना छात्राहरूलाई स्कुल पाेशाक, स्टेशनरी सामाग्रीलगायत वितरण गरिएकाे थियाे । छात्रवृत्ति वितरण कार्यक्रममा भेरी नगरपालिकाका उपमेयर सीता जैसीले भूकम्पमा अभिभावक गुमाएमा, अति विपन्न बालबालिकाहरूलाई छात्रवृत्ति वितरण गरिएकाे भन्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले फाउन्डेसनले छनाेट गरेका बालिकाका अभिभावकहरूलाई नगरपालिकामार्फत आयआर्जनकाे कार्यक्रम दिइने बताउनुभयो । `अति आवश्यक ठाउँमा सहयाेग पुगेकाे छ, याे सहयाेग उच्च शिक्षा अध्ययनसम्म कायम रहाेस्,´ उहाँले भन्नुभयो, `नगरपालिकाबाट हुने सहयाेग गर्न हामी तयार छाैं ।´

यस्तै जनज्याेति मावि आठवीसकाेट रूकुम पश्चिमका प्रधानाध्यापक मन्जुदेवी खड्काले स्कुल पाेशाक र लेख्नका लागि कापी र कलमसम्म नपाउँदा धेरै बालबालिका पढ्नबाट बन्चित रहेकाे बताउनुभयो । `भुकम्पपछि त रूकुम र जाजरकोटमा याे ठूलाे समस्या बनेकाे छ,´ उहाँले भन्नुभयो, `संकटका बेला ज्याेति फाउन्डेसनको सहयाेग धेरै महत्वपूर्ण छ ।´

फाउन्डेसनका अध्यक्ष कटुवालले १० कक्षासम्म छात्राहरूलाई निरन्तर सहयाेग गर्ने बताउनुभयो । उहाँले छात्रवृत्ति दिइएका छात्राहरूकाे स्वास्थ्य विमाकाे जिम्मेवारी पनि फाउन्डेसनले लिने बताउनुभयो । उहाँले फाउन्डेसनकाे स्थापना लगत्तै जाजरकाेट केन्द्रविन्दू बनाएर भुकम्प गएकाले तत्काल जाजरकोट र रूकुम पश्चिमका छाेरीहरूलाई सहयाेग गरिएकाे बताउँदै आगामी दिनमा कर्णाली अरू जिल्लाहरूमा पनि छाेरीहरूका लागि कार्यक्रम सन्चालन गरिने बताउनुभयो ।