श्रमिक दिवसको अवसरमा रक्तदान कार्यक्रम


१८ बैशाख, सुर्खेत । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा आज रक्तदान कार्यक्रम गरिएको छ ।

नेपाल ट्रेड यूनियन काँग्रेस सुर्खेतले श्रमिकहरुको सहभागिता गराउँदै सिटी बसपार्कमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल काँग्रेस सुर्खेतका उपसभापति विष्णु बहादुर खड्काले नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रका प्राविधिक विकास गिरीलाई रक्त संकलन थैली हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

खड्काले सुर्खेतमा रक्तसञ्चार केन्द्र सञ्चालन हुन भन्दा अगाडी सुर्खेतमा हुने रक्त अभावको अनुभव सुनाउदै यातायात जस्तो जोखिम क्षेत्रमा महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाजका सुर्खेत अध्यक्ष एवं केन्द्रीय सदस्य प्रवास कुमार शाक्यले कस्ता व्यक्तिले रक्तदान गर्न सक्छन् एवं रक्तदान गर्दा कस्ता फाइदा हुन्छ भन्ने बारे आफ्नो भनाई राख्नुभएको थियो ।

कार्यक्रममा ३३ पिन्ट रगत संकलन गरिएको नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रका प्राविधिक विकास गिरीले जानकारी दिनुभयो ।

त्यस्तै युनियनले आज नै दिवसको अवसरमा वीरेन्द्रनगरको फोनलेन सडकमा रहेको विरुवाहरुमा सिँचाइ गरेको छ । त्यस्तै भोली विहान मंगलगढी चोकबाट श्रमिकहरुको र्रयालीले नगर परिक्रमा गर्ने जानकारी दिएको छ ।