दलित बस्तीमा नि शुल्क विशेषज्ञ स्वास्थ्य शिविर


अविरल ढकाल
चैत्र १०, जुम्ला ।

जुम्लाको तिला गाँउपालिका ३ को दलित बस्तीमा एक दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । आर्थिक अवस्था कमजोर भएका कारणले स्वास्थ्य उपचार गराउन नसक्ने दलितलाई लक्षित गरि निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरिएको हो ।

शिविरमा महिलाको पाठेघर सम्बन्धि समस्याको जाँच, बाल स्वास्थ्य, साधारण जाँच, हाड र्जाेनी तथा नसा सम्वन्धिका समस्याको जाँच गरिएको थियो । जिल्लामा पुगेर उपचार गराउन बाट बञ्चित रोगले ग्रस्त व्यक्तिहरुले आफ्नो घर दैलोमै जिल्लामा पाइने स्वास्थ्य सेवा लिन पाएको स्थानिय लालसिंह बुढाले बताउनुभयो । रोगले च्यापेर घरमा मर्नु पर्ने वाध्यता थियो तर यस शिविरले विपन्न दलितलाई मात्र नभई सम्पूर्ण विरामीले स्वास्थ्य उपचार लिन पाएका छन् । अझै पनि यस्तै सेवा दुरदराजका वस्तीहरुमा गर्न सकेमा न्यून आय भएका मानिसले पनि स्वास्थ्य सेवा पाउने आशा लिएको समेत बुढाको भनाई छ ।

उमेरले डाँडो काटि सकेका ६२ वर्षीया भिमबहादुर शाहीले अहिले सम्म कुनै पनि स्वास्थ्य उपचार कतै पनि गराएका थिएन् तर उनले यो निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन हुने रेडियोबाट प्रसारित सुचना सुनेर उपचार गारउनको लागि तीन घण्टाको बाटो हिडेर स्वास्थ्य शिविर संचालन भएको स्थान सम्म पुगेका थिए । उनले भने जिल्ला बाट विशेषज्ञ डाक्टरहरु आउने भने पछि स्वास्थ्य उपचार गराउन आएको हुँ । उनलाई हाड र्जाेनी सम्वन्धी समस्याले सताएको रहेछ तर हाड जोर्नी सम्वन्धी विशेषज्ञ डाक्टर धनबहादुर कार्कीले उनको रोगलाई जाँच गरि सकेपछि अव निको हुने आशाका साथ घर फकिएको शाहीको धारणा छ ।

जुम्लाका अधिकांश महिलाहरुको पाठेघरको समस्याले पीडित भएका छन् । महिलाको पाठेघर खस्नुको मुख्य कारण कम उमेरमा विवाह हुनु, आफ्नो क्षमता भन्दा बोझपूर्ण भारि बोक्नुका साथै आफ्नो स्वास्थ्यको ख्याल नगर्नुले जुम्लाका महिलाहरुमा आंग खस्ने समस्या दिन प्रति दिन बढ्दै गएको छ ।
विरामी भएर रोग बाट पीडित भएर कुनै पनि मानिसले अकालमा ज्यान गुमाउन नपरोस् र हरेक नागरिकले सहज स्वास्थ्य सेवा लिन पाउन् भन्ने उद्देश्यका साथ निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर दलित बस्तीमा गरिएको कुडारी स्वास्थ्य चौकीका इन्र्चाज विरेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो । निकट भविष्यमा दुर्गमका बस्तीमा पनि निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने योजना समेत उपाध्यायले सुनाउनुभयो । तिला गाउँपालिको ३ मा धेरै घर दलितबस्ती भएको कारणले यो शिविरमा विशेष गरि विपन्न दलितलाई स्वास्थ्य उपचारको पहुँचमा पुग्नको लागि यो शिविर संचालन गरेको उपाध्यायको भनाई छ । आफ्नै घर दैलोमा निशुल्क स्वास्थ्य उपचार पाएकोमा विरामीले खुसी व्यक्त गरेका छन् ।

तिला गाँउपालिका ३ को फुयालगाँउ र दानीगाँउका १०० दलित घरधुरीका घरपरिवारलाई लक्षित गरि निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेपनि त्यहाँका सवै विरामीले स्वास्थ्य उपचार गराएका थिए भने, शिविरमा ३ सय, ५० भन्दा बढी विरामीले स्वास्थ्य उपचार गराएका छन् । उपचार गराउनेमा सवै भन्दा बढि हाड र्जोनी सम्वन्धी समस्या भएका र पाठेघरको समस्या भएका विरामीले सेवा लिएकाछन् ।

कुडारी स्वास्थ्य चौकीको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।