
जेठ ८, सुर्खेत । सुर्खेतमा जारि रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत छैठौं दिन सम्पन्न ३ वटा खेलहरुमा महाकाली क्रिकेट क्लब, त्रिभुवन आर्मी क्लब र मध्य-पश्चिम क्रिकेट क्लब बिजयी भएका छन्।
आजको खेलहरु पछि अंकतालिकाको समुह ‘ए’ मा रुपन्देही ११ ३ खेलमा ३ जित सहित शिर्षस्थानमा रहेको छ भने त्रिभुवन आर्मी क्लबको ३ खेलमा २ जित र १ हार सहित ४ अंक तथा ४ वटा खेल खेलेको टिकापुर क्रिकेट क्लबको ४ खेल खेल्दा २ जित र २ हार सहित ४ अंक रहेको छ। यस्तै समुह ‘बि’ मा धनगढी क्रिकेट एकेडेमी ३ खेलमा जित सहित ६ अंक शिर्ष स्थानमा रहेको छ भने मध्य-पश्चिम क्रिकेट क्लबको ४ खेलमा ३ जित र १ हार सहित ६ अंकनै रहेको छ।
पहिलो खेल
दिनको पहिलो खेलमा महाकाली क्रिकेट क्लबले भेरीगंगा क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको छ।
टस जितेर ब्याटिंग गरेको भेरीगंगा क्रिकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२२ रनको योगफल तयार गरेको थियो। उसको लागि तिलक थापाले सर्वाधिक ३७ रन तथा सौगात कार्कीले २४ रन योगदान दिए । बलिंगतर्फ पारस केसी र महेन्द्र सावदले समान २/२ विकेट लिए भने रोबिन क्षेत्रीले किफायती बलिंग गर्दै १ विकेट लिन ४ ओभरमा मात्र ६ रन खर्चिए।
१२३ रन लक्ष्य महाकालीले १७.१ ओभरमा ६ विकेट पुरा गर्यो। उसको लागि महेश साउदले सर्वाधिक अविजित २८ रन तथा पारस केसीले अविजित २३ रन बनाए। बलिंगतर्फ भेरिगंगाका शिभ डाँगी र तिलक थापाले २/२ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच महेश साउद घोषित भए।
दोश्रो खेल
आजै सम्पन्न दोश्रो खेलमा त्रिभुवन आर्मी क्लबले टिकापुर क्रिकेट क्लबलाई १७६ रनले पराजित गर्यो ।
टस जितेर ब्याटिंग गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित २० ओभरमा २ विकेट मात्रै गुमाएर २२६ रनको बिशाल योगफल तयार गरेको थियो।
आर्मीको लागि प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा सागर पुनले अविजित १०२ रन बनाए जुन क्रममा उनले ६३ बलमा ८ चौका र ६ छक्का प्रहार गरे। यस्तै राजेश पुलामी मगरले ४६ रन बनाउन २६ बलमा ३ चौका र ३ वटै छक्का प्रहार गरे। बिनोद भण्डारीले ३० तथा अनिल मण्डलले २२ रन बनाए।
२२७ रनको लक्ष्य पछ्याउने क्रममा टिकापुरले १५ ओभरमा ५० रनको योगफलमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। आर्मीका बलर सुसन भारि र जितेन्द्र मुखियाले समान ३/३ विकेट हात पारे भने राजेश पुलामीले २ विकेट हात पारे। टिकापुरका प्रकाश रावल र ललित प्याकुरेलले समान १५ रन योगदान दिनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
खेलको प्लेयर अफ द म्याच सागर पुन घोषित भए।
तेश्रो खेल
आजै सम्पन्न तेश्रो खेलमा मध्य-पश्चिम क्रिकेट क्लबले काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरलाई ६ विकेटले पराजित गर्यो ।
टस हारेर ब्याटिंग गरेको काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले २० ओभरमा ८ विकेट गुमाएर १०६ रन बनाउन सक्यो। उसको लागि कप्तान बिपिन आचार्यले सर्वाधिक ४३ रन बनाउन ५० बलमा ४ चौका प्रहार गरे। मध्य-पश्चिमका बलर अमर सिंह रौटेला एक्लैले ५ विकेट तथा सुनिल सुनार, दीपेन्द्र रावत र अविनाश बोहराले समान १/१ विकेट हात पारे।
१०७ रनको लक्ष्य पछ्याउने क्रममा मध्य-पश्चिम क्रिकेट क्लबले १३.४ ओभरमा लक्ष्य भेटायो। उसको लागि ओपनिंग ब्याटिंग गरेका राजबिर सिंहले सर्वाधिक अविजित ६१ रन बनाए जुन क्रममा ४२ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै सिद्धान्त राज शाहीले ३८ रन बनाउन ३० बलमा ७ चौका प्रहार गरे।
काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरका बलर प्रितम थापाले २ तथा श्याम त्रिपाठीले १ विकेट हात पारे।
खेलको प्लेयर अफ द म्याच अमर सिंह रौटेला घोषित भए।
साभारः बुलबुले अनलाईन खबर ।



Milan Shrestha । ८ जेष्ठ २०७५, मंगलवार १४:२५ बजे