तरकारी खेतीले बदल्यो पहिचान


व्यवसायिक खेतिमा बढ्दै आकर्षण

बिस्नप्रसाद न्यौपाने
फागुन ८, कालीकोट ।

कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं. १ निवासी धितादेवी न्यौपानेलाई आजभोली तरकारी गोडमेल तथा बजारीकरणमा भ्याइ नभ्याइ छ । उनी प्रायः एक दिन बिराएर आफ्नो बारीको तरकारी बोकेर आरसिपी बजार आउछिन् र बेचेर साँझ घर फर्किन्छीन् । झण्डै चार रोपनी जग्गामा थालिएको व्यवसायीक तरकारी खेतीले आफ्नो जीवनमा परिवर्तन ल्याएपछि उनले तरकारी खेतीतर्फ आकर्षित भएको बताइन् । एक बोरा मकै उत्पादन हुने बारीमा तरकारी खेती गरे पछि १३ बोरा मकै किन्ने पैसा कमाएको छु । उनले भनिन्, अन्नबाली लाउनु भन्दा तरकारी खेती गर्न मन लाग्यो र भण्डै १० बर्ष पहिले देखि व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएकी छु । एक सिजनमा तरकारी बिधिक्रबाट ७०–८० हजार भन्दा बढी आम्दानी भएको बताउँने अगुवा कृषक धितादेवीले आफुसँग भएको सबै जग्गामा परम्परागत अन्नबाली छोडेर तरकारी खेती थालेपछि आर्थिक अवस्थाको सुधारका साथै आफ्नो पहिचान नै बदलीएको बताइन् । उनले थालेको तरकारी खेतीको सफलता उनको आर्थिक स्तर बृद्धिसंम्म मात्र सिमित भएन । जसले नामको अगाडी जिल्लाकै अगुवा कृषकका रुपमा रुपान्तरण समेत गरिदियो ।
जिल्ला कृषि विकास कार्यालय, स्वीस सरकारको सहयोग तथा हेल्भेटास नेपालको सहजिकरणमा रास्कोट क्षेत्रमा लागु भएको प्रयास कायक्रमको सहयोगमा रास्कोट नगरपालिकाको वडा नं. १ जनालीकोटलाई नमुना तरकारी गाँउ, सुन्तला गाँउ भनेर चिनिन थालेपछि त्यहाँका अन्य दर्जनौ कृषकहरुले समेत व्यवसायीक तरकारी खेती गर्न थालेका छन् । कृषक धितादेवीले भनिन्, मैले गाईबस्तुको पिसाव संकलन गरी पिसावको सदुपयोगमा थालेको तरकारी खेती सबैले प्रसंसा गर्न लाएक भएपछि अन्य कृषकहरुको पनि आकर्षण बढेको हो ।
जिल्लाको रास्कोट नगरपालिका अन्तरगत, स्यूना, सिपखाना र फुकोटका कृषकहरु धान, मकै र गहुँखेती छाडेर तरकारी खेती प्रति निकै आकर्षित भएका छन् । मकै, धान र गहुँ खेतीबाट भन्दा तरकारी खेतीबाट तेब्बर फाइदा भएपछि परम्परागत खेती छाडेर तरकारी खेतीमा लागेको अर्का अगुवा कृषक परीलाल न्यौपानेले बताए । परम्परागत मकै र धानखेती छाडेर व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेपछि बार्षिक रुपमा पाँच लाख भन्दा बढी आम्दानी गर्न सफल भएको उनको भनाई छ । विगत दश बर्ष अघि यही समयमा परम्परागत रुपमा गरिने धान र मकैखेतीमा व्यस्त हुने न्यौपाने हाल व्यवसायिक तरकारी खेतीबाट बार्षिक ५ लाखसम्म कमाउन थाले पछि झनै कस्सिएका छन् ।
धान र मकै खेतीबाट वर्षमा ६ महिना खाना पुगाउन पनि मस्किल थियो, न्यौपानेले विगत सम्झिदै भने, अहिले तरकारी खेती गर्न थालेपछि वर्षमा पाँच लाखसम्म कमाउन सकेको छु । बारी र खेतमा आलु, टमाटर, गोबी, काउली, खुर्सानी, सिमी, बोडी, गोलभेडा, भण्टा लगाएतका थुप्रै तरकारी लटरम्म फलेका छन् । उनले सिजन अनुसारको तरकारी खेतीबाट आफूले मासिक राम्रो कमाइ गर्ने गरेको बताए । परम्परागत खेतीबाट भन्दा सीप र मेहनतले व्यवसायिक तरकारी खेतीबाट बढी फाइदा लिन सकिने विस्वास न्यौपानेको छ ।