कृति समिक्षा
कृष्णराज धमाला “अपूर्ण”
आस्थालाई लिलाम गर्नेहरुको वस्ति र भीडमा, काम वेकाम आस्थालाई बन्धकि राख्नेहरुको भीडमा चुनौति दिएर उभिने प्रगतिवादी श्रष्टा निश्चल प्यासी को बजारमा पाइने आस्थालाई सलाम कविता संग्रहले यस्तै परीवेशको झल्को दिएको छ । वलीदानका अमर कृति स्तम्भ बनेको संग्रहले त्याग, तपस्या, समर्पण र विरताको प्रतिक रातो लालटिनको सहाराबाट गरीएको जोखीमपूर्ण यात्राको चित्रण गरेकोछ शब्दहरुको माला उनेर ।
कलम चलाउने कोमल औंलाहरु बन्दुकको टिगर चलाउन थालेपछि पैदा भएको भावना र छट्पटाएको संबेदनाले ओकलेको शब्द कृति आखिर कविता संग्रह बन्न पुग्यो । ठेस लाग्यो, दिल दुख्यो । काँडाले चिथोर्यो, संबेदना छट्पटियो । अनगिन्ति घाउहरुले मगज थिलोथिलो पारेपछि पैदाभएको भावनाको सुनामी बोकेर कवितामा प्रष्फूटन भए । एक दशक लामो जनयुद्धको सनसनिपूर्ण दशकमा भोगेका, देखेका, चिसा चिसा चित्कार रोदन अनि सुस्केरा मात्रै होइन वेमौषमी आर्तनादका भाकाहरुलाई जोडेर यथार्तबादी संबेदनाका अभिब्यक्ति दिने कविता संग्रह हो आस्थालाई सलाम ।
कोमल मन, रुन्चे स्वभावका श्रष्टा आखीर एक हातमा बन्दुक र अर्को हातमा मृत्यूपत्र बोकेर युद्ध मैदानमा परेड खेल्न ब्यस्त रहे कवि प्यासी । यद्यपी सृजनाको मूहान कहिल्यै सुक्न दिएनन्, तमाम् अवरोध सृजना भएपनि रोक्न दिएनन्
। ढुंगालाई टेन्च बनाएर होस् यात सहोदरहरुको शवको ढाल बनाएर परीबर्तनको खाँतिर भन्दै एक दशक लामो कहाली लाग्दो यात्रामा होमीएका कवि प्यासीको साहित्य सृजना गर्ने प्यास पनि कहिले पुरा हुन सकेन । त्यस्तो परिस्थितिमा पनि कविता सृजना गर्ने कवि प्यासी ले कविता संग्रह आस्थालाई सलाममा समाहित गरेका कविताका हरफहरु
ग्रेटवालको मूलूकमा बस्ने प्यारो मान्छे
तिमि चिसोमा बस्दै भए
रोल्पाले आगो जोड्न जाली तमसुक सल्कायो
कर्णालीले काला महल जलायो
सेतीले आगो बाल्न काला बन्दुक बटुल्यो ।
अत्याचारको खडेरीमा सल्काइएको आगो
तिमिलाई जाडोमा काम लाग्छ भनि
यो आगो तिमि तिरै पठाएका छौं ।।
२७ वटा कविताहरुको संग्रह हो आस्थलाई सलाम । कृतिका कृतिकार अर्थात निश्चल प्यासी ले कालीकोट जिल्ला ओदानकु गाविस वडा नं १ मा पीता महानन्द उपाध्याय, आमा गोरीकला उपाध्यायको कोखबाट कान्छा सुपुत्रका रुपमा २०३९ फागुन ७ गते जन्मिएका हुन् । पत्रकारीताको वाइलाइनमा दुर्गा काफ्ले, साहित्य सृजनामा निश्चल प्यासी र राजनितिक यात्रामा स्वर्णिम र गौरवका नामले चिनिने प्यासी लाई साहित्य, राजनिति र पत्रकारीताका त्रिबेणी भन्दा अत्तियुक्ति नहोला । जसरी धेरै नामले चिनिएका छन् प्यासी त्यसै गरी साहित्यका पनि गजल, कविता, उपन्यास, कथा तथा मुक्तक सृजना गर्ने बहुप्रतिभावान भएर नेपाली साहित्यमा चिनिएका छन् ।
असिनाहरुको मूलूकमा पहाड भएर सलाम गर्ने, खडेरीहरुको मूलूकमा मूल भएर सलाम गर्ने प्यासी हरेक वाधाहरु सँग पौठेजोरी खेल्न कहिल्यै पछि परेनन् । पीडा, व्यथा र वेदनाको संगम सँग लुकामारी खेल्न रुचाउने प्यासी र उनको श्रृजनालाई एक पटक सलाम गर्दा सायद अन्याय नहोला ।
क्षितिज तिर उपन्यास, सपना भित्रको सपना गजल संग्रह र आस्थालाई सलाम कविता संग्रह प्रकाशन गरी नेपाली साहित्य इतिहासमा फरक पहिचान बनाई सकेका कृतिकार प्यासीका वादल भित्रको जुन गजल संग्रह र रातभरी उपन्यास प्रकासोन्मुख रहेको छ । दश बर्षे जनयुद्ध सँगै रमाउदै श्रृजना गर्दै गरेको प्यासीका केही केही रचनामा बढि राजनितिक गन्ध आएपनि समग्र समाजको वास्तविकता ओकलीएकोछ, संघर्ष बिना मन पनि शान्त हुँदैन भन्ने भाव छचल्किएको पाइन्छ ।
आस्था जोगाएर राख्नु महत्वपूर्ण कुरा हो तर आस्था बचाउन भने कहिल्यै मर्नु हुदैन । आस्था बचाउन सक्नेहरु साहसी हुन्, निडर हुन्, उनीहरुले जीवन जीउने क्रममा केही गर्न पनि सक्छन् । निराशामा निधार खुम्च्याएर बाँकी जीवनलाई छि छि गर्नेहरुको भीडमा उब्जिएको प्यासीको कलम निरन्तर चलिरहोस् यही शुभकामना ।



Milan Shrestha । ९ फाल्गुन २०७४, बुधबार ०९:१२ बजे