कृष्णराज धमाला
फागुन १७, सुर्खेत ।

आज फाल्गुण शुक्ल पूर्णिमा । यही दिन मनाइने फागु अर्थात् होली पर्व हिमाली तथा पहाडी जिल्लाहरुमा हर्षोल्लास् र खुसीका साथ मनाइँदैछ ।
कर्णाली प्रदेशको राजधानी लगायत अन्य जिल्लाहरुमा पनि सद्भाव र मित्रताको साइनो जोड्दै रमाइलोका साथ होली मनाउने क्रम चलीरहेको छ ।
वसन्त ऋतुको आगमनसँगै मेलमिलाप र सद्भाको शुभ सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा रङ र लोला खेली मनाउने परम्परा छ ।
सडकमा काम विशेषले हिँड्ने यात्रीलाई इच्छा विपरीत रङ वा लोला हान्ने क्रम सब्यताको प्रतिकका रुपमा मानीदैन ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग गाँसीएको छ । सोही समयदेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने चलन चलेको पाइन्छ ।
द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले विष दलिएको स्तन चुसाउन लाग्दा स्तन चुसाउन असफल भई मारिइन् । उनलाई ब्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि ग्रन्थमा उल्लेख छ ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । तराई क्षेत्रमा यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ ।



Milan Shrestha । १७ फाल्गुन २०७४, बिहीबार ०५:४८ बजे