गाँउमा खानेपानीकै हाहाकार

बिस्नप्रसाद न्यौपाने
कालिकोट फागुन २३ गते ।
कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नं. ६ का वडा अध्यक्ष जगधिश शाहीको नेतृत्वमा गएको गाँउलेको टोलीले खानेपानी आयोजना तोडफोड गरेपछि गाँउमा खोनपानीको समस्या भएको छ । मुहानको विबादमा खाँडाचक्र नगरपालिका वडा नं. ६ को लेकाली भेगबाट वडा नं. ७ पिलीको गाँउमा लिएको खानेपानी आयोजना तोडफोड गरी भत्काएपछि पिलीबासीहरुलाई खानेपानीको समस्या भएको हो ।

फनबोर्ड, नगरपालिका र पुरानो साविकको दाँहा गाविसको आर्थिक सहयोग तथा हुरेण्डेक नेपालको प्राबिधिक सहयोगमा निर्माण गरिएको मेजरपाखा ग्रामिण खानेपानी आयोजनाको मुहान विवादमा वडा अध्यक्षकै नेतृत्वका गएको गाउलेहरुको टोलीले, मुहान तथा बीच भागमा रहेका ट्यांङकी तोडफोड तथा पाईपलाई ठाँउ ठाँउमा काटिदिएपछि पिलीका स्थानिय नागरिकहरु जिल्ला प्रशासनमा न्याय माग्न आएका छन् । खानेपानी आयोजनाको प्राबिधिक सहयोग गर्ने हुरेण्डेग नेपालका सामाजिक परिचालक ललित मल्लले पिलीको करोडौको खानेपानी आयोजना निर्माण सम्पन्न भएको तीन महिना नबित्दै जनप्रतिनिधिहरु सहितको टोलीले भत्काईदिएपछि पिलीमा खानेपानीको समस्या भएको बताए । उनका अनुसार फनबोर्डको ५२ लाख, साविकको दाँहाँ गाविसको ४ लाख २८ हजार, खाँडाचक्र नगरपालिकाको ५ लाख र जनश्रमदान १६ लाख गरी ७७ लाख लगानीमा तीन बर्षपहिलेदेखी निर्माण सुरु भएर निर्माण सम्पन्न भएको खाँनेपानी आयोजना वडा अध्यक्षकै नेतृत्वमा गाँउलेहरुले तोडफोड गरेका छन् ।
पिली निवासी स्थानिय पुत्रबहादुर मल्लले वडा अध्यक्षकै नेतृत्वमा खानेपानी आयोजना तोडफोड तथा भत्काईएपछि गाँउमा पीउने पानीको समेत समस्या रहेको बताउदै जिल्ला प्रशासन कार्यालयमा आएर पिलीका नागरिकहरुलाई न्याय दिन निमित्त प्रमूख जिल्ला अधिकारी समक्ष माग गरेका छन् । उनले नागरिकलाई विकास दिने सरकारको प्रमूखले नै नागरिकले गरेको विकासलाई भत्काएको भन्दै कानुनी कारबाहीका लागि पनि माग गरे । उनले भने, सिहं दरबार गाँउमा आयो भनिएको छ । गाँउको विकासको लागि गाँउमै सरकार भनिएको छ तर गाँउको सरकारकै नेतृत्वमा खानेपानी आयोजना तोडफोड गरियो । पुर्ण सरसरफाई उन्मुख पिलीको गाँउमा खानेपानीको समेत अभाव भएको छ । उनले दुई वटा खोलामा पानी बगेर सिचाई गरिरहेका दाँहाँका नागरिकहरुले सिचाई प्रभावीत भयो भनेर आफुहरुको खानेपानी आयोजना भत्काएको बताए ।
तर वडा अध्यक्ष जगधिश शाहीले आफुले आयोजना तोडफोड नगरेको बताए । उनले गाँउलेहरुले बेला बेला त्यो आयोजना रद्ध गर्नका लागि प्रशासन, नगरपालिकामा निवेदन दिएको तर सम्बन्धित निकायले ध्यान नदिदा गाँउलेहरु आभेसमा आएर तोडफोड गरेको बताए । उनले भने, मेरो वडा कार्यालयमा पनि करीव १ सय ५० नागरिकहरु आएर आयोजना तोडफोड गर्न जाँउ भने तर म गईन । उनीहरु गएर तोडफोड गरेका हुन् । उनका अनुसार २०७३ साल मंसिर १४ गते तत्कालीन जिल्ला विकास समितिको जलश्रोत समितिमा उक्त आयोजना दर्ता भयो । २०७३ साल फागुन २६ गते आयोजना रद्ध गर्न प्रशासनमा गाउलेहरुले निवेदन दिएका थिए ।

निमित्त प्रमूख जिल्ला अधिकारी राजकुमार दुलालले पिलीको खानेपानी आयोजनाको आफुहरुले अनुगमन गरिसकेको र बिहिबार खाँडाचक्र नगर प्रमूख जसीप्रसाद पाण्डे सहितको उपस्थितिमा दुई पक्षबीच छलफलका लागि बोलाएको बताए । उनले सिचाईको समस्या देखाएर नागरिकहरुलाई पिउने पानीबाट बन्चीत गर्न नपाईने बताउदै यसको समाधान तत्काल खोजीने बताए । उनले र्सार्बजानिक सम्पतीलाई क्षेती पुगाउनलाई आवश्यक छानबिन गरी कारबाही गरिने बताए ।
योजना छनोटका १४ वटै चरण पूरा गरेर वैधानिक रूपमा मूल दर्ता गरेर आफ्नै एरियामा पर्ने पानी लिँदा पनि पिलीमाथि हस्तक्षेप गरेर खानेपानी योजना दाहाका केही व्यक्तिको अगुवाइमा भत्काइएको वडा नं. ७ का अध्यक्ष रजबहादुर मल्लको गुनासो छ । उनले वडा नं. ७ कै क्षेत्रबाट लाखौंको लगानीले खानेपानी गाउ पुर्याएको एक महिना नबित्दै केही व्यक्तिले ट्यांकी तोडफोड गरेर खानेपानी अवरुद्ध बनाएको गुनासो गरे । मूलको पानी अर्ढाई इन्चीको मोटो पाइपमा लगेर परम्परागत सिँचाइ कुलोमा असर परेपछि दाहा र तलसेरका जनताले ट्यांकी फुटाएको वडा नं. ६ का सदस्य धनीप्रसाद भट्टर्राईले बताए । उनले सिँचाइको विकल्प नहुँदासम्म पानी लैजान नदिने बताए ।

पानीका लागि झगडा गर्नु भन्दा पनि खानेपानी पनि खान दिनुपर्ने र सिँचाइ पनि गर्न समस्या नहुने गरी विकल्प खोजेर दुवै वडा अघि बढ्नुपर्ने नगरप्रमुख जसीप्रसाद पाण्डेले बताए । उनले छलफलका लागि पहल भइरहेकै अवस्थामा केही व्यक्ति गएर पानीको ट्यांकी तोडफोड गर्नु गैरजिम्मेवार काम भएको बताए । नगरपालिकाले दुवै पक्षलाई बोलाउन पत्राचार गरिसकेको जानकारी दिँदै विकासका संरचना भत्काएर आफ्नो गाउँठाउँलाई घाटा पुगेको बताए । उनले बिहिबार दुबै पक्षहरु बीच छलफल गरेर समाधान खोजिने बताए । विश्व बैंकको सहयोगमा खानेपानी तथा ढल निकास विभागमार्फ ग्रामीण खानेपानी तथा सरसफाइ कोष -फन्डबोर्ड) को प्रमुख लगानीमा स्थानीय समुदायको नगद तथा श्रमदान, तत्कालीन दाहा गाविस र खाँडाचक्र नगरपालिका गरी ७७ लाख लगानीमा सञ्चालन भएको आयोजना तोडफोड भएपछि स्थानीय आक्रोशित भएका छन् ।



Milan Shrestha । २३ फाल्गुन २०७४, बुधबार १२:५५ बजे