नेवा: संस्कृतिको संरक्षणमा टेवा पुग्ने १५ दिने धिमेबाजा, नेवारी तथा चर्या नृत्य प्रशिक्षण कार्यक्रम सुरु


वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा नेवाः देय् दबू जिल्ला कार्य समिति, सुर्खेतको आयोजना तथा नेवाः मिसा दबू जिल्ला समिति, सुर्खेतको सहकार्यमा सञ्चालन हुने १५ दिने धिमेबाजा, नेवारी तथा चर्या नृत्य प्रशिक्षण कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ ।

नेवाः देय् दबू जिल्ला समिति, सुर्खेतकी अध्यक्ष तिला शाक्य श्रेष्ठको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ऋषि गिरी प्रमुख अतिथि तथा नगर कार्यपालिका सदस्य नवराज गुरुङ विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले नेपालको बहुजातीय तथा बहुसांस्कृतिक पहिचानलाई जोगाइराख्न यस्ता सांस्कृतिक प्रशिक्षण कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले परम्परागत कला, संस्कृति र मौलिक सम्पदाको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न स्थानीय सरकार सदैव सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो ।

विशेष अतिथि गुरुङले नेवा: समुदायले नेपाली कला, संस्कृति र सभ्यताको संरक्षणमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायका युवापुस्तामा सांस्कृतिक चेतना र आत्मगौरव बढाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सल्लाहकारद्वय ध्रुवकुमार श्रेष्ठ र विद्याभूषण मानन्धर, नेवाः देय् दबूका केन्द्रीय सदस्य एवं प्रमुख प्रशिक्षक सूदन मूनिकार, केन्द्रीय सदस्य सुन्दरमान श्रेष्ठ, प्रदेश अध्यक्ष बालकृष्ण श्रेष्ठ, नेवाः मिसा दबूकी केन्द्रीय उपाध्यक्ष उर्मिला श्रेष्ठ तथा जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठलगायत नेवा: समुदायको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार प्रशिक्षण कार्यक्रममा धिमेबाजा वादन, नेवारी सांस्कृतिक नृत्य तथा बौद्ध परम्परासँग सम्बन्धित चर्या नृत्यका विविध पक्षबारे सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिने बताइएको छ ।