
मनिराज पाण्डे
वैशाख १३, कालिकोट
पलाँता गाउँपालिकाले गाउँपालिकाभित्र विकासका काम सुरु गरेको छ । गाउँपालिकामा सडक, खानेपानी, विद्युतलगायत पूर्वाधार विकासका कामलाई उच्च प्राथमिकतामा राखेर गाउँपालिकाले काम सुरु गरेको छ । गाउँपालिकाले एक वर्षमा सबै वडामा सडक, सबै घरमा विजुली बत्ती पुर्याउने लक्ष्य राखेको छ ।
गाउँपालिकाले अहिले ११ किलो मिटर सडक निर्माण कार्य सम्पन्न गरेको छ । यो आर्थिक वर्षमा ४० किलोमिटर सडक निर्माण गर्ने लक्ष्य लिएको गाउँपालिकाले असाढ मसान्तसम्म थप ३० किलोमिटर सडक निर्माण गर्ने योजनामा छ । आठ महिना भित्र गाउँपालिकाका सबै वडामा सडक पुर्याउने गरी कार्य भइरहेको गाउँपालिका अध्यक्ष लक्षमणबहादुर बमले बताउनुभयो । गाउँपालिकाले दुई वटा डोजर प्रयोग गरी सडक निर्माण कार्य भैरहेको छ ।
एक घर एक धारा
गाउँपालिकाको वडा नम्बर १ र ९ का सबै घरधुरीमा यसै वर्ष एक घर एक धारा वितरण गर्ने तयारी भइरहेको छ । गाउँपालिकाले वडा नम्बर १ मा भिडीसेफ र वडा नम्बर ९ मा किर्डाक नेपालको सहयोगमा मिटर जडानसहित शुद्ध खानेपानी धारा वितरण गर्ने तयारी थालेको हो ।
गाउँपालिकाका सबै घरमा पूर्ण सरसफाइका सूचकहरु पूरा भएपछि खानेपानी धारा बाँड्ने तयारी भएको वडा नम्बर ९ का अध्यक्ष टंकबहादुर बमले बताउनुभयो ।
सबै घरमा उज्यालो
गाउँपालिकाले ५ वटा स्थानबाट बिजुली बाल्ने तयारी थालेको छ । पालिकाले ७० किलोवाट क्ष्मता रहेको औलाखोला लघुजलविद्युत आयोजनाबाट गाउँपालिकाका ४, ५ र ६ वडामा असाढ मसान्तभित्र बत्ती बाल्ने तयारी भैरहेको पलाँताका प्रशासकीय अधिकृत लेखबहादुर क्षेत्रीले बताउनुभयो ।
त्यस्तै, १७ किलोवाट भूचिखोला लघुजलविद्यूत आयोजनाको काम पनि असाढ मसान्तमा सम्पन्न हुनेछ । यो आयोजनाबाट वडा नम्बर ७ का केही घरधुरीमा बत्ती बल्नेछ । सय किलोवाट क्षमताको दूर्सि लघुजलविद्युत आयोजनाको निर्माण कार्य आठ महिना भित्र सम्पन्न हुनेछ । यस आयोजनाबाट वडा नम्बर १, २, ३ र ७ का सबै घरधुरीमा बत्ती बाल्ने गरी अन्तिम तयारी भइरहेको गाउँपालिका अध्यक्ष बमले बताउनुभयो ।
यस्तै, गाउापालिकाभित्र २१ किलोवाट क्षमतको दार्मिगाड (क) लघुजलबिद्यूत आयोजना र १३ किलोवाट म्क्षमताको दार्मिगाड (ख) लघुजलविद्यूत आयोजनाबाट वडा नम्बर ८ र ९ का सबै घरधुरीमा जेठ महिनाभित्र बत्ती बाल्ने तयारी भैरहेको छ ।
सबै वडामा जनस्वास्थ्य सेवा केन्द्र
पलाँता गाउँपालिकाले पलाँताका सबै वडामा जनस्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने कार्य अघिबढाएको छ । नागरिकको स्वास्थ्य अधिकार संरक्षण गर्न पलाँताका सबै वडामा जनस्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक हिमाल संज्यालले बताउनुभयो ।
अहिलेसम्ममा वडा नम्बर २, ३, ५, ८ र ९ मा स्वास्थ्य संस्था स्थापना भइसकेका छन् । वडा नम्बर १, ४, ६ र ७ मा तत्काल स्वास्थ्य संस्था स्थापना गर्ने तयारी भैरहेको छ । गाउँपालिकाले सडक, खानेपानी, विजुली, स्वास्थ्य, शिक्षा, सिंचाई, सहकारी र सञ्चारलाई पहिलो प्राथमिकतामा राखेको छ । उज्यालो अनलाइन बाट
Milan Shrestha । १४ बैशाख २०७५, शुक्रबार ०३:३३ बजे