राष्ट्रियसभा निर्वाचनः कर्णालीमा सत्ता गठबन्धनका उम्मेदवार विजयी (फोटो फिचर सहित)



१२ माघ, सुर्खेत । कर्णाली प्रदेशमा बुधबार (आज) सम्पन्न भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धन दल विजयी भएका छन् ।

सत्ता गठबन्धन दलका उम्मेदवारहरुमा महिलामा नेपाली कांग्रेसबाट दुर्गा गुरुङ्ग (सुर्खेत), अपाङ्गता/ अल्पसंख्यकबाट माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) र खसआर्यबाट एकीकृत समाजवादीका उदय बोहरा (सल्यान) विजयी हुनुभएको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो ।

चालिसेका अनुसार ४ः०८ देखि शुरु भएको मतगणना परिणाम अनुशार विजयी उम्मेदवारहरुमा महिलातर्फ नेपाली काँग्रेसका गुरुङले २ हजार ९७०, अपाङ्गता÷अल्पसंख्यकतर्फ माओवादी केन्द्रका विष्टले ३ हजार ६ र खसआर्यतर्फ एकीकृत समाजवादीका बोहराले ३ हजार ६ मतभार प्राप्त गरी विजयी हुनुभएको हो ।

यसै गरि आज सम्पन्न मतदानमा प्रतिपक्षी दल नेकपा (एमाले)बाट महिलातर्फ गंगा महत (जुम्ला)ले १ हजार ४१६, खसआर्यतर्फ चुडामणि शर्मा (सुर्खेत)ले १ हजार ४१६ र अपाङ्गता÷अल्पसंख्यकतर्फ पदम माझी (दैलेख)ले १ हजार ३९८ मतभार प्राप्त गर्नुभएको छ।

“राष्ट्रियसभा सदस्यको आजको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कर्णाली प्रदेशसभा सदस्य सोशिला शाहीले भने मतदान गर्नुभएन,” प्रदेश निर्वाचन अधिकारी चालिसेले भन्नुभयो, “तिलागुफा नगरपालिका कालीकोटका उपप्रमुख भने करिब दुई वर्षदेखि नेपाल बाहिर हुँदा उपस्थित हुन सक्नु भएन । त्यसैले कर्णालीमा स्थानीय तहको १५६ र प्रदेशसभाको ३५ गरी कुल मतसंख्या १९१ मा १८९ खसेको थियो ।” उहाँका अनुसार स्थानीयतर्फ महिलातर्फ दुई मत र अपाङ्गतातर्फ एक मत बदर भएको छ ।