एकै गाउँपालिकाका १२ बिद्यालय समायोजन


बिस्नप्रसाद न्यौपाने
बैशाख १४, कालीकोट ।

कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाले गाउँपालिकाको शैक्षिक सुधारका लागि १२ वटा विद्यालय समायोजन गरेको छ । जिल्ला शिक्षा कार्यालयबाट अस्थायी अध्ययन अनुमति लिएर हचुवामा कक्षा सञ्चालन गरिरहेका जिल्लाको नरहरीनाथ गाउँपालिकाका १२ सामुदायिक विद्यालयलाई समायोजन गरिएको हो ।

भौगोलिक रूपमा नजिक तथा विद्यार्थी संख्या न्यून रहेका विद्यालयलाई समायोजन र दरबन्दी विनै सञ्चालित विद्यालयको तहगत अनुमति खारेज गरिएको छ । गाउँपालिकाले विद्यालय समायोजन तथा तह घटुवा गर्ने अभियान थालेको गाउँपालिकाका प्रवक्ता तथा शिक्षा विभाग प्रमुख गगन फडेराले बताए । ‘गाउँपालिकाले १२ वटा सामुदायिक विद्यालय समायोजन गरेको छ ।’ उनले भने, शिक्षाको गुणस्तर बृद्धि गर्नका लागि यो नीति लिएको हो ।’

गाउँपालिकाले एउटै वडामा रहेका ६ वटा विद्यालयलाई सामायोजन गरेर तीनवटा विद्यालय कायम गरिएको र दरबन्दी विनै अस्थायी अनुमति लिएर १० कक्षासम्म सञ्चालित र दरबन्दी अभावमा पठनपाठन गुणस्तरीय नभएको, समुदायलाई आर्थिक भार परेको हुँदा अस्थायी अनुमति खारेज गरेर समायोजन गरिएको शिक्षा विभाग प्रमुख फडेराले बताए । ‘भौगोलिक रूपमा नजिक तथा विद्यार्थी संख्या न्यून रहेका विद्यालयलाई समायोजन र दरबन्दी विनै सञ्चालित विद्यालयको तहगत अनुमति खारेज गरिएको छ ।’ ‘यसअघि शिक्षा कार्यालयले हचुवाको भरमा अनुमति दिने गरेका कारण जिल्लामा ९९ वटा बिद्यालयहरु दरबन्दी बिहिन अवस्थामा संचालन भईरहेका छन् । तर लामो समय दरबन्दी नदिँदा पठनपाठनमा समस्या देखिएको, विद्यार्थी संख्या पनि न्यून भएको हुँदा विद्यालय समायोजन तथा कक्षा कटौती गर्नुपरेको बताईएको छ ।

गाउँपालिका अनुसार दरबन्दी बिहिन समायोजन गरिएका बिद्यालयहरुमा आधारभुत बिद्यालय बाहुसेरा, कालिका आधारभुत बिद्यालय पाल्तीगाँउ, हरीशंकर आधारभुत बिद्यालय गोठी, चन्द्रसुर्य आधारभुत बिद्यालय लिमा, जनज्योती आधारभुत बिद्यालय बाँगा, प्रतिभा आधारभुत बिद्यालय तल्कोट, नवदिपक आधारभुत बिद्यालय लालु, प्रगतिशील आधारभुत बिद्यालय लालु, जनउत्थान आधारभुत बिद्यालय लालु, शान्ति आधारभुत बिद्यालय सल्लेरी, महाँदेव आधारभुत बिद्यालय अदेला, राष्ट्रिय आधारभुत बिद्यालय राईटा, रामारोशन आधारभुत बिद्यालय राईटा, नन्दादेवी आधारभुत बिद्यालय खाती रुप्सा र दिपेन्द्र आधारभुत बिद्यालय भाटगाँउ समायोजनमा परेका छन् ।

यस्तै कक्षा घटुवा बिद्यालयहरुमा नैनेलदेव आधारभुत बिद्यालय धारी, गुरुदेव आधारभुत बिद्यालय गशणेशपुर, शान्ति आधारभुत बिद्यालय लामीडाँडा, रुपादेवी आधारभुत बिद्यालय डाँडाखला, जनकल्याण आधारभुत बिद्यालय पनेरीखेत, जनता आधारतभुत बिद्यालय भरता, बालकल्याण आधाभुत बिद्यालय पैनेरा, महाँदेव आधारभुत बिद्यालय खलापाटा, शिशुकल्याण आधारभुत बिद्यालय रामपानी, जनप्रिय आधारभुत बिद्यालय निरागलमाडु लालु, मालममता आधारभुत बिद्यालय लालु र रुपादेवी आधारभुत बिद्यालय लालु रहेका छन् । गाँउपालिका प्रवक्ता फडेराका अनुसार २१ जना शिक्षकको सरुवा तथा १२ जना नयाँ प्रधानाध्यापक पनि नियुक्ति गरिएको छ ।