

२६ असार, सुर्खेत । सुर्खेतका पत्रकार महिलाहरुलाई दुई दिने सूचनाको हकको विषयमा तालिम बिहीवारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ ।
पत्रकार महिलालाई सूचनाको हकको विषयमा जानकारी दिनुका साथै सूचनाको हकको विषयमा व्यवहारिक प्रयोग गर्न सहज होस भन्ने उद्देश्यले तालिम प्रदान गरिएको हो । वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा क्रियाशिल पत्रकार महिला शाखा सुर्खेतले तालिमको आयोजना गरेको हो ।
तालिमको उद्घाटनमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले सूचनाको हक सञ्चारमाध्यम र पत्रकारहरुको लागि ठूलो अस्त्र रहेको बताउनुभयो । नागरिकको सूचनाको अधिकारलाई स्थापित गर्नको लागि पत्रकारहरुको जिम्मेवारी रहेको भन्दै उहाँले यस विषयमा सबै जानकार हुन आवश्यक रहेको औल्याउनुभयो । ‘नागरिकलाई जान्न पाउने हकको सुसुचित गर्दछ’ उपप्रमुख ढकालले भन्नुभयो, ‘यसमा मिडियाले कसरी प्रस्तुत गर्छ भन्ने कुरामा भर पर्छ ।’
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले सूचनाको हकको प्रयोगले पत्रकारलाई खोजमुलक समाचार तयार गर्न सहज हुने बताउनुभयो । जसका कारण पत्रकारलाई सुरक्षित गर्न उहाँको भनाई थियो ।
नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले सूचनाको हकको विषयमा ऐन कानुनहरु निर्माण भएतापनि यसको कार्यानवयन तहमा अझै प्रभावकारी नभएको बताउनुभयो । यस विषयमा नागरिकहरुलाई सुसुचित गराउन जरुरी रहेको उहाँको भनाई थियो ।
महासंघका उपाध्यक्ष माया थापाले सुचनाको हकको विषयमा स्वयं पत्रकारहरु नै अनविज्ञ भएका कारण पनि यसको कार्यान्वयनमा प्रभावकारीता नआएको भन्दै यसको विषयमा सुसुचित हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव दिपेन्द्र शर्मा, राष्ट्रिय समाचार समिति कर्णाली प्रदेश प्रमुख सुरजबहादुर सिंह, क्रियाशिल पत्रकार महिला शाखा सुर्खेतका पूर्व अध्यक्ष मुना हमाल, क्रियाशिल पत्रकार महिला शाखा दैलेखका अध्यक्ष ज्योति कटुवाललगायतको सहभागीता रहेको थियो ।
तालिमको प्रशिक्षण नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, महासंघ सुर्खेत शाखाका अध्यक्ष गणोश कञ्चन भारती, उपाध्यक्ष माया थापा, राष्ट्रिय समाचार समितिका प्रकाश अधिकारी तथा महासंघका केन्द्रीय प्रतिनिधिहरुले तालिमको सहजिकरण गर्नुभएको थियो ।
छन्
Milan Shrestha । २६ असार २०७६, बिहीबार १९:०९ बजे