बिष्णु शर्मा नौमूले, दैलेख
दैलेखको नौमूले गाउँपालिकाका पहाडी भेकहरुमा बिहीबार साँझ एक्कासी परेको असिनापानीले पाक्नै लागेको गहुँबाली सँगै अन्य सम्पूर्ण बाली नष्ट पारेको छ ।
‘पाक्नै लागेको गहुँवाली भित्र्याउने अवस्थामा राखिएको थियो, एक्कासी असिना पानी पर्यो गहुँवालीमा बुटा मात्रै छ गहुँको कुनै दाना छैन’ स्थानीय नारायण पुरीले भने । ‘रुखका पात समेत छैनन्, पातै झर्ने गरि असिना पर्र्यो गहुँवालीको त कुरै छैन । बुटा समेत दखिदैनन् गहुँको त के हुनु ।’
नौमूले गाउँपालिकाका अधिकांश स्थानहरुमा जेठबाट रोपाईँ सुरु हुन्छ, रोपाईँका लागि उमारेको र रोप्ने अवस्थामा पुगेको बिऊ समेत असिनाले मारिदिएपछि कृषकहरु झनै समस्यामा परेका छन् । नयाँ बिऊ रोप्दा समय घकिने, अहिले बिऊ असिनाले मारेपछि उम्रिने अवस्थामा नभएकोले कृषकहरु चिन्तित छन् । असिना पानीले नौमूले गाउँपालिकाका द्धारी, कालिका, बालुवाटार, नौगाउँ, गुराँसे, चौराठा, मलु, गिरखानी, पैती, लगायतका धेरै वडाहरुमा क्षती गरेको स्थानीय शशिलाल पुरीले जानकारी दिएका छन् ।
गाउँपालिकाका अग्ला भेकहरुमा असिना पानीले तरकारीवाली, गहुँवाली मात्र हैन घर बाहिर खाली बाँधेका पशु चौपाए समेत मरेको जानकारी प्राप्त भएको र कृषकहरुको राहतका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग पहलका लागि माग गर्ने तयारी भएको नौमूले गाउँपालिकाका अध्यक्ष भविराम बुढाले जानकारी दिए ।
गाउँपालिकाको कृषि समितिमा कृषकहरुलाई क्षतीबारे बिवरण संकलन गर्ने काम सुरु गरिने गाउँपालिकाले जानकारी दिएको छ । कालिकाका वडा अध्यक्ष जंगबहादुर ढेगाले भने पहाडी भेक भिरालो जमिन र कम उत्पादन हुने यस्ता स्थानहरुमा जलवायु परिवर्तनको असरका कारण बेमौसममा असिना पानीले बालीनाली क्षती गर्ने काम निरन्तर भैरहेको र हरेक बर्ष भोकमारी हुने गरेको बताए ।
एक्कासी आएको पानीले नौमूले हुँदै कालिका, द्धारी, बालुवाटार जाने सडक समेत क्षती गरेको छ । बिभिन्न स्थानहरुमा पहिरो गएकोले अहिले सडक सेवा बन्द भएको गाउँपाकिलाले जानकारी दिएको छ । नयाँ पत्रिकाबाट



Milan Shrestha । १५ बैशाख २०७५, शनिबार ००:४८ बजे