अधिकार चाहियो पैसा चाहिएन–मुख्यमन्त्री शाही


कृष्णराज धमाला

सुर्खेत, १५ वैशाख ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका लागि अधिकारको आवश्यकता रहेकोमा जोड दिनुभएको छ । उहाँले संघीय सरकारलाई अर्थ नभई अधिकारको खाँचो भएकोमा जोड दिनुभएको हो ।

कर्णाली सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश विशेष अधिकार प्रदेश चाहन्छ, यहाँका गौरवका आयोजना निर्माणका लागि संघीय सरकारको स्वीकृति लिनुपर्ने परीपाटीले कर्णाली प्रदेशको विकास हुन सक्दैन । उहाँले थप्नुभयो संघीय सरकारले यो प्रदेशको आगामी बजेटको सिलिङ् १४ अर्ब मात्रै पठाएको छ त्यसले यहाँको विकासमा टेवा पुग्दैन । मुख्यमन्त्री शाहीले जोडदिदै भन्नुभयो कर्णाली प्रदेशलाई पैसा होइन, विशेष अधिकार चाहिन्छ ।

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल) तथा नेप्लिज सिभिल सोसाइटी माउण्टेन इनिसियटिभको पहल तथा राष्ट्रिय मानवअधिकार आयोग नेपालसँगको समन्वयमा आयोजित ‘समावेशी विकास–अधिकारको सुनिश्चितता स् सामाजिक न्याय र समृद्धिको पहल’ विषयक कर्णाली सम्मेलनको आयोजना गरीएको हो ।

सम्मेलनमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रदेशसभा प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही, भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्री, उपसभामुख पुष्पा घर्ती, राष्ट्रिय योजना आयोग क्षेत्रीय कार्यालयका प्रमुख मुरारी खरेल, विज्ञ गौरी प्रधान, प्रदेशसभा सदस्यसहित सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।