आयरल्याण्डमाथि शानदार जितसँगै नेपाल यू-१९ विश्वकपको क्वाटरफाइनल नजिक


१६ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेटमा नेपालले सन्दिप लामिछानेको हृयाट्रिकको मदतमा आयरल्याण्डमाथि ८ विकेटको शानदार जित हात पारेको छ ।


लगातार दोस्रो जितसँगै नेपाल दोस्रो चरण नजिक पुगेको छ ।अहिले भइरहेको अर्को खेलमा भारत न्यूजिल्याण्डलाई हराए नेपाल समूह चरणको अन्तिम खेल अघि क्वार्टरफाइनलमा पुग्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग खेल्नु पर्नेछ । त्यसअघि नेपाल ४ अंकसहित समूहको शीर्ष स्थानमा छ । आयरल्याण्डले नेपालसामू १३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई नेपालले मात्र २६ ओभरमा २ विकेट गुमाएर भेट्टायो । नेपालको पहिलो विकेट भने खाता नै नखोली गुमाएको थियो । सन्दिप सुनार पहिलो बलमै एलबीडब्लू धरापमा परे । तर, योगेन्द्र सिंह कार्कीले नेपालको पारी सम्हाले । उनले सुनिल धमलासँग ५५ रनको साझेदारी गरे । धमला २८ रन बनाएर दोस्रो विकेटका रुपमा आउट भए । तेस्रो विकेटका लागि कार्कीले उपकप्तान आरिफ शेखसँग अविजित ७७ रनको साझेदारी गरे । कार्की ६१ रनमा अविजित रहे । आरिफ शेख ३१ रनमा नटआउट रहे । यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर १३१ रन बनाएको थियो । आयरल्याण्डलाई धरासायी पार्ने क्रममा नेपालका सन्दिप लामिछानेले हृयाटि्रकसहित ५ विकेट लिए । उनले ३२ औं ओभरको अन्तिम तीन बलमा लगातार तीन विकेट लिएका थिए ।
साभारः अनलाइन खबर