
जुम्ला : चन्दननाथ नगरपालिका ८ की २० वर्षीया तारा रावत (तिरुवा) दुई सन्तानकी आमा हुन्। घरायासी कामसँगै साथमा रहेका पाँच वर्षीया छोरी र एक बर्से छोरो स्याहार्दै उनको दैनिकी बित्छ। १४ वर्षको उमेरमै अन्तरजातीय विवाह गरेकी उनी अहिले अफ्ठ्यारोमा छिन्। कलिलै उमेरमा आमा बनेकी उनले न त सन्तानको राम्रोसँग स्याहारसुसार गर्न सकेकी छन्, न त घरायासी काम नै। जेनतेन कक्षा १० पास गरेकी उनको बाल विवाहका कारण पढाइ पनि रोकिएको छ।
‘साथीहरूसँगको संगत र देखासिकीले सानैमा माया बस्यो, त्यो बेला बिहेको महत्व पनि बुझिएन, हतारमा गरेको बिहेले अहिले पछुताउनुपरेको छ’, उनले भनिन्, ‘समाजले तल्लो जातको केटासँग विवाह गरेको भनेर अनेकौं कुरा भन्यो, त्यो पीडा त सहेरै बसें, तर बाल विवाहले दिएको पीडा भने सहन गाह्रो छ।’ उनले आफ्नो सबै समस्याको जड बाल विवाह भएको भन्दै यसले स्वास्थ्य अवस्थामा पनि असर पुर्याउने बताइन्। उनी भन्छिन्, ‘
बाल विवाह गर्नु भनेको आफूले आफैंलाई दुःख निम्त्याउनु रहेछ, अब कसैले यस्तो दुःख भोग्नु नपरोस्।’ बाल विवाह गरेकै कारण उनका पति नन्द तिरुवालाई पनि दुःख उस्तै छन्। पढाइ छोडेर रिक्सा चलाँउदै गरेका उनी काममा नगएको दिन घरको चुल्हो बल्दैन।
उनीहरू जस्ता जिल्लाका हजारौंले किशोरकिशोरीले बाल विवाह गरेकै कारण दिनप्रतिदिन यस्तै समस्या भोग्दै आएका छन्। चार वर्षअघि सिंजा देवरगाउँबाट कालिकोटमा विवाह गरेर गएकी १८ वर्षीया निरु रोकाया पनि ३ वर्षीया छोरीको आमा बनिसकेकी छन्। आमाको भूमिका नै थाहा नभएको अवस्थामा उनले छोरी जन्माइन्। कक्षा ८ पढ्दै गर्दा भागी विवाह गरेकी उनको दिनचर्या घरको काम गदै बित्ने गरेको तथा बाल विवाह पीडादायक रहेको बताइन्। २०६८ को जनगणनाले जिल्लामा १७ प्रतिशत बाल विवाहको तथ्यांक देखाए पनि अहिले त्यसको अवस्था तेब्बर बढी रहेको बाल विवाह न्यूनीकरण गर्ने विभिन्न संघ तथा सरकारी तथा गैरसरकारीको तथ्यांकमा छ।
त्यस्त निकाय तथा समूहबाट करोडौं बजेट सकेर कार्यक्रम सञ्चालन भए पनि उपलब्धि भने शून्यप्रायः छ। गरिबी, अशिक्षा, परम्परागत संस्कार, साथीभाइको देखासिकी, तथा मोबाइल फोन र सामाजिक सञ्जालको दुरुपयोगका कारण जिल्लामा बाल विवाह बढ्दै गएको हो। विगतका वर्षमा बाल विवाहविरुद्ध भएका कार्यक्रम यस वर्ष प्रभावकारी रूपमा सञ्चालन भएका छैनन्।
बाल विवाहकै कारण गर्भावस्थामा सुत्केरीको मुत्यु हुने, पछि गएर सम्बन्ध नै विच्छेद हुने, बीचमै पढाइ छाड्नाले भविष्य अन्धाकार हुनेलगायत समस्या बढ्दै गएको महिला विकास अधिकृत गोमा प्रसाईंले बताइन्। उनका अनुसार जिल्लाका ग्रामीण बस्तीमा यस्तो समस्या बढी छ। हाल जिल्लाको पातारासी, कनकासुन्दरी, सिंजा, हिमा, तिला र गोठीचौर गाउँपालिका बाल विवाहको बढ्दो जोखिममा छन् भने चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिका पनि बाल विवाहको उस्तै समस्या छ।
जिल्लामा बाल विवाह व्याप्त रहेको र विकृतिको रूपमा मौलाउँदै गएको अवस्थाबारे तथ्यांक संकलन, अनुगमन तथा अनुसन्धान भइरहेको तथा असारसम्म अन्तिम तथ्यांक सार्वजनिक हुने महिला विकास अधिकृत प्रसाईंले बताइन्। महिला तथा बालबालिका सेवा केन्द्र जुम्लाका अनुसार बाल विवाहका उजुरी र खबर समयमै प्रहरीकहाँ पुग्दैनन्। पुगे पनि दुवै पक्षका परिवार र बालबालिकाबीच आपसी समन्वयमै गाँउमै बाल विवाह हुने गरेका छन्। गाउँमा तत्काल बाल विवाह भए पनि विवाह दर्ता भने धेरै समयपछि उमेर पुगेपछि मात्र बनाउने गरिएको पनि पाइएको छ। अन्नपूर्णपोष्टबाट
Milan Shrestha । २९ बैशाख २०७५, शनिबार ०५:५० बजे