
असार ५, सुर्खेत । खार्पुनाथ गाउँपालिका–३ का अत्यन्तै विपन्न परिवारका नवजात जुम्ल्याहा शिशुको संरक्षण, पालनपोषण तथा अध्ययनको जिम्मा सुर्खेत स्थित कोपिल भ्याली सेवा समाजद्वारा सञ्चालित बाल गृहले लिएको छ ।
खार्पुनाथका लोक बहादुर सुनारकी श्रीमती स्वं नानी कामी सुनारको बच्चाजन्म दिएको २० दिनमै निधन भएको थियो । आमाको निधनपछि नवजात शिशुहरू अभिभावकविहीन अवस्थाजस्तै बने पछि खार्पुनाथ गाउँपालिका र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सिफारिसमा जुम्ल्याहा शिशुलाई पालनपोषण र अध्ययनको जिम्मा समाजद्वारा सञ्चालित बालगृहले लिएको हो ।
सुनारको परिवारको नाममा कुनै खेतीयोग्य जमिन वा स्थायी आयस्रोत नभएकाले उनी मजदुरी गरेर दैनिक जीविकोपार्जन गर्दै आएका छन् । कमजोर आर्थिक अवस्था, परिवारको ठूलो जिम्मेवारी तथा नवजात शिशुको विशेष हेरचाह आवश्यक पर्ने अवस्थाका कारण परिवार थप संकटमा परेपछि गाउँपालिकाले हुम्ला जिल्लामा बालगृह वा परिवारमा आधारित वैकल्पिक हेरचाह सेवा उपलब्ध गराउने संस्था समेत नभएको उल्लेख गर्दै नवजात जुम्ल्याहा शिशुको संरक्षण, स्वास्थ्य हेरचाह, पालनपोषण तथा भविष्यको शिक्षाका लागि आवश्यक सहयोग उपलब्ध गराइदिन सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय, सामाजिक संघसंस्था र सहयोगी मनहरूलाई अनुरोध गरेको थियो ।




Prawash Kumar Shakya । ५ असार २०८३, शुक्रबार १८:०० बजे