१५ दिने धिमेबाजा, नेवाः चर्या नृत्य प्रशिक्षण कार्यक्रम सम्पन्न


कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेका नेवार समुदायहरुको धिमे बाजा नेवाः चर्या नृत्य र कुमारी नृत्यको प्रशिक्षण सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग, नेवाः देय् दबू जिल्ला कार्य समिति, सुर्खेतको आयोजना तथा नेवाः मिसा दबू जिल्ला समितिको सहकार्यमा सञ्चालित १५ दिने धिमेबाजा, नेवारी तथा चर्या नृत्य प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका नगर  प्रमुख मोहनमाया ढकालले जिल्लाका सम्पूर्ण आदिवासी जनजातिहरूको भाषा, कला, संस्कृति तथा पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि नगरपालिका निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सांस्कृतिक संरक्षणसँगै जिल्लाको पर्यटन प्रवर्द्धनका लागि समेत विभिन्न योजनाहरू कार्यान्वयन भइरहेको जानकारी दिनुभयो । साथै आगामी वर्षहरूमा सुर्खेतको ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा काक्रेविहारको संरक्षण, विकास तथा व्यापक प्रचारप्रसारमा विशेष ध्यान दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका वक्ताहरूले नेवाः समुदायको भाषा, कला, संस्कृति, बाजागाजा तथा परम्परागत नृत्यहरूको संरक्षण, संवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्न यस्ता प्रशिक्षण कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभएको थियो । सहभागीहरूले प्रशिक्षणबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख नीलकण्ठ खनाल, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतका अध्यक्ष हस्तबहादुर गुरुङ, दबुका सल्लाहकारहरू ध्रुवकुमार श्रेष्ठ, भूषणकुमार मानन्धर तथा विद्याभूषण मानन्धर, नेवाः देय् दबूका केन्द्रीय सदस्यद्वय सुन्दरमान श्रेष्ठ र सुदनमान मुनिकार (प्रशिक्षक), नेवाः मिसा दबूकी केन्द्रीय उपाध्यक्ष उर्मिला श्रेष्ठ, जिल्ला अध्यक्ष लक्ष्मीकुमारी श्रेष्ठ (मानन्धर) लगायत नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का पदाधिकारी, विभिन्न जातीय तथा सामाजिक संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो ।

नेवाः देय् दबू जिल्ला समिति, सुर्खेतकी अध्यक्ष तिला शाक्य श्रेष्ठको सभापतित्वमा सम्पन्न समापन कार्यक्रमको सहजिकरण सचिव बालकृष्ण श्रेष्ठले गर्नुभएको थियो ।