
“स्वस्थ बुढ्यौलीका लागि योग” भन्ने आदर्श वाक्यका साथ १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित निःशुल्क वृहत् योग–ध्यान शिविर २०८३ शनिबार सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघर डबलीमा भव्य रूपमा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति सुर्खेतका अध्यक्ष गङ्गाराम सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रममा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री यामलाल कँडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । बिहान ५ बजेदेखि सुरु भएको योग तथा ध्यान कार्यक्रम बिहान ७ बजेसम्म सञ्चालन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशलाई स्वस्थ, समुन्नत र अनुशासित प्रदेश बनाउन योगको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले “अब हामी सबै मिलेर कर्णाली प्रदेशलाई स्वस्थ प्रदेश बनाउन योगलाई जीवनशैलीका रूपमा अपनाउनुपर्छ दैनिक रूपमा योग, प्राणायाम र ध्यानलाई व्यवहारमा उतार्न सबै लाग्नुपर्छ भन्दै योगप्रति जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश आयुर्वेद अस्पतालका प्रमुख सहित विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको अतिथिका रूपमा उपस्थिति रहेको थियो । साथै जिल्लास्थित विभिन्न योग, आध्यात्मिक तथा सामाजिक संघ–संस्थाहरूको उल्लेखनीय सहभागिता र सहकार्य रहेको थियो ।
अन्तर्राष्ट्रिय योग दिवसलाई सप्ताहव्यापी रूपमा मनाउने कार्यक्रमअन्तर्गत हिजो स्थानीय एभरब्रिज विद्यालय मा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट हुने प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई आजको कार्यक्रममा सभापति गङ्गाराम सुनार तथा प्रमुख अतिथि मुख्यमन्त्री यामलाल कँडेलले नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न योग अभ्यास, ध्यान तथा स्वास्थ्यसम्बन्धी गतिविधिहरू सञ्चालन गरिनुका साथै पतञ्जलि योग समिति का तर्फबाट योगसम्बन्धी झाँकीहरू प्रस्तुत गरिएको थियो । त्यसैगरी नेवा देय दबू सुर्खेत द्वारा प्रस्तुत गरिएको परम्परागत धिमे बाजाले कार्यक्रमलाई थप आकर्षक र सांस्कृतिक रूपमा समृद्ध बनाएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेत, प्रदेश आयुर्वेद अस्पताल तथा कर्णाली प्रदेश सरकारका सम्बन्धित निकायहरू रहेका थिए भने जीवन विज्ञान, इस्कोन , आर्ट अफ लिभिङ, पतञ्जलि योग समिति, मोक्षपथ फाउन्डेसन,महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, बौद्धिक सनातन धर्म समिति लगायत विभिन्न योग तथा आध्यात्मिक संघ–संस्थाहरूको सहकार्य रहेको थियो ।



Milan Shrestha । ७ असार २०८३, आईतवार २०:२९ बजे