
१५ असार, वीरेन्द्रनगर । कर्णाली क्रिकेट कप २०२६ अन्तर्गत आइतबार भएको लिग चरणको दोश्रो खेलमा दैलेखले सुर्खेतलाई ३ विकेटको रोमाञ्चक जित निकालेको छ ।
वीरेन्द्रनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुर्खेतले निर्धारित १२ ओभरमध्ये ११.५ ओभरमा सबै विकेट गुमाउँदै ८८ रन बनायो । सुर्खेतको योगफलमा ऒपनर जोडी मनिष थापाले २२ र निश्चल रावलले ११ रनको योगदान दिएपनि अरू ब्याट्सम्यान दैल्रेखी बलर सामू खुलेर चल्न सकेनन् ।
८९ रनको लक्ष्य पछ्याएको दैलेखका लागि कप्तान हिमांशु शाहीले सर्वाधिक २२ रन बनाउनुभयो । उहाँले १६ बलमा ३ चौका प्रहार गर्नुभएको थियो । विकेटकिपर राजेश खड्काले १४ बलमा १३ रन तथा कौस्तुभ खड्काले १२ बलमा १० रनको योगदान दिनुभएको थियो ।
अन्त्यतिर प्रकाश शाहीले ६ बलमा ११ रन जोड्दा अविनाश हमाल २ बलमा ६ रन बनाएर अविजित रहनुभयो । सुर्खेतका लागि सुरज बोहराले २ विकेट लिनुभयो भने विपिनप्रसाद शर्माले ३ ओभरमा मात्र ९ रन खर्चेर १ विकेट लिनुभयो । कैलाश खड्का र प्रकाश जैसीले पनि समान १–१ विकेट हात पार्नुभएको थियो ।
प्लयेर अफ दि म्याच दैलेखका प्रकाश शाहीले ३ ओभरमा १८ रन खर्चेर ५ विकेट लिंदै फाइभ विकेट हलको रेकर्ड बनाउनुभयो । यस्तै नवीन खडायतले ३ र मौसम थापाले १ विकेट लिनुभयो ।
झरीका कारण ओभर घटाइएका कारण बनेको कम स्कोरको प्रतिस्पर्धात्मक खेलमा दैलेखले संयमित ब्याटिङ गर्दै अन्तिम ओभरमा लक्ष्य भेट्टाएर ३ विकेटको रोमाञ्चक जित निकाल्यो । जितसँगै दैलेखले लिग चरणमा महत्वपूर्ण दुई अंक हासिल गरेको छ ।



Prawash Kumar Shakya । १५ असार २०८३, सोमबार १३:०० बजे