हिन्दी पत्रकारिताको २०० वर्ष पूरा, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य चुके सहित बाँकेका चार पत्रकार सम्मानित


नेपालगन्ज/ हिन्दी पत्रकारिताको २०० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा छिमेकी मित्रराष्ट्र भारतको बहराइचमा आयोजित “अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन–२०२६” भव्य रूपमा सम्पन्न भएको छ ।

बहराइज जिल्लाको मान्यता प्राप्त पत्रकार एशोसिएसन, बहराइचद्वारा आयोजित उक्त सम्मेलनले पत्रकारिता, साहित्य, अभिव्यक्ति स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा सञ्चार क्षेत्रको भूमिकाबारे गहन विमर्श गरेको छ । सिआर रिसोर्टको हलमा सम्पन्न सो कार्यक्रममा भारत र नेपालका पत्रकार, साहित्यकार, तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सम्मेलनमा विचार गोष्ठी, लघु हाँस्य–व्यंग्य कविता वाचन, सम्मान तथा पत्रकारिता सम्बन्धी अन्तरक्रियात्मक वृहत् छलफल गरिएको थियो । प्रेस काउन्सिल अफ इण्डियाका पूर्व सदस्य सैइयद हुसैन रिजवीको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनका प्रमुख अतिथि बहराइजका सांसद डा. आनन्द गौड रहनुभएको थियो ।

उद्घाटन सत्रमा पूर्व राज्यमन्त्री तथा समाजसेवी राजा इन्द्रसेन रिजवीले पत्रकारिता समाज परिवर्तनको सशक्त माध्यम भएको उल्लेख गर्दै सत्य र निष्पक्षताको पक्षमा पत्रकारहरू दृढ रहनुपर्ने बताउनु भयो । सम्मेलनमा प्रयागपुरका विधायक सुधाष त्रिपाठीले पत्रकारिताको माध्यमबाट सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पत्रकारहरुलाई आग्रह गर्नु भयो ।

त्यस्तै सम्मेलनमा नेपालबाट सहभागी वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका पूर्व सदस्य पूर्णलाल चुकेले हिन्दी पत्रकारिताको २०० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाल–भारत वीच रही आएको प्रागैतिहासिक सम्बन्ध विश्वकै लागि विशिष्ठ खालको छ र अरु कुनै पनि मुलुक वीच छैन भन्नुभयो । सम्बन्धलाई अझ प्रगाढ बनाउन पत्रकारिताको माध्यमबाट दुबै देशका पत्रकारहरुले सकारात्मक योगदान दिनुपर्ने कुरामा जोड दिनुभयो । अझ मजबुत बनाउन यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।

वरिष्ठ पत्रकार चुकेले सन् १८२६ मे ३० मा अंग्रेजको शासनकालमा पण्डित जुगल किशोर शुक्लले ‘उदन्त मार्तण्ड’ नामक भाषाको साप्ताहिक समाचारपत्र प्रकाशित गरेर भारतमा हिन्दी पत्रकारिताको शुरुवात गरेको बताउनु भयो । उन्नाइसौँ शताब्दीको प्रारम्भमा अँग्रेज शासित भारतमा अंग्रेजी, बङ्गला र उर्दू भाषाका पत्रपत्रिका प्रकाशित हुन थालेका थिए, तर हिन्दी भाषी जनताका लागि आफ्नै भाषामा समाचारपत्रको आवश्यकता महसुस गरेर पं. जुगल किशोर शुक्लले कलकत्ताबाट देवनागरी लिपिमा ‘उदन्त मार्तण्ड’ प्रकाशित गर्नुभयो । यसको अर्थ “उदाउँदो सूर्य” हुन्छ उहाँले भन्नुभयो । उहाँले नेपालको पत्रकारिताको इतिहासको चर्चा गर्दै वि.सं. १९५५, श्रावणमा प्रकाशित सुधासागर पहिलो पत्रिका भएको र वि.सं. १९५८, वैशाख २४ मा प्रकाशित गोरखापत्र दैनिक नेपालको पहिलो समाचारपत्र हो भन्दै अंग्रेजी भाषामा अंग्रेजी पत्रिका वि.सं. २०१० मा प्रकाशित नेपाल गार्जेन मानिन्छ भने पहिलो अंग्रेजी दैनिक समाचारपत्र वि.सं. २०१३ मा गोपाल दास श्रेष्ठद्वारा प्रकाशित द कमनर हो र पछि सरकारी स्वामित्वको द राइजिङ नेपाल तथा वर्तमानमा डिजिटल पत्रकारिताको बारेमा पनि चर्चा गर्नुभयो ।

उहाँले पत्रकारिताले भौगोलिक सीमाभन्दा माथि उठेर समाज र मानवताको पक्षमा काम गर्नुपर्ने बताउनु भयो । त्यसैगरी, वरिष्ठ पत्रकार तथा गोरखापत्र दैनिकका वरिष्ठ समाचारदाता सिराज खानले पत्रकारिताको विश्वसनीयता जोगाउनु आजको सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गर्दै डिजिटल युगमा तथ्यमा आधारित पत्रकारिताको आवश्यकता झनै बढेको बताउनु भयो । उहाँले पत्रकारहरू सत्य, निष्पक्षता र जनउत्तरदायित्वप्रति प्रतिबद्ध रहनुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनको अर्को आकर्षण सम्मान समारोह रहेको थियो । समारोहमा नेपालका वरिष्ठ पत्रकार पूर्णलाल चुके, सिराज खान, डा. डक्टप्रसाद धिताल र सबिता चन्द ठकुरी लगायत पत्रकारिता क्षेत्रमा निरन्तर कलम चलाउँदै आएका दर्जनौँ भारतीय पत्रकार, साहित्यकार तथा सञ्चारकर्मीहरूलाई प्रमाणपत्र, आकर्षक घडी तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

पत्रकार एशोसिएसनका मण्डलाध्यक्ष तथा मरकज उर्दु साप्ताहिकका सम्पादक सादाव हुसैनको प्रभावकारी उद्घोषणमा सञ्चालिन सम्पन्न उक्त सम्मेलन जिल्ला अध्यक्ष आनन्द प्रकाश गुप्ताको अगुवाई र अन्य पत्रकारहरुको सक्रिय सहयोग रहेको थियो ।

सम्मानित व्यक्तित्वहरूले पत्रकारिता केवल पेशा नभई समाज परिवर्तनको अभियान भएको उल्लेख गर्दै सत्य, न्याय र जनहितको पक्षमा कलम चलाइरहने प्रतिबद्धता व्यक्त गरेका थिए। आयोजक संस्थाले पत्रकारिता, साहित्य र सामाजिक चेतना अभिवृद्धिमा पु¥याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको जनाएको छ ।

कार्यक्रममा सहभागी वक्ताहरूले दुई शताब्दी लामो हिन्दी पत्रकारिताको यात्राले लोकतन्त्र सुदृढीकरण, सामाजिक जागरण र जनचेतना विस्तारमा ऐतिहासिक योगदान पु¥याएको उल्लेख गर्दै आगामी दिनमा पत्रकारिताले कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र सामाजिक सञ्जालको युगमा पनि सत्य र विश्वसनीयतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

हिन्दी पत्रकारिताको २०० वर्षे गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै आयोजित यो अन्तर्राष्ट्रिय सम्मेलनले नेपाल–भारतबीचको पत्रकारितागत सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै पत्रकारिता, साहित्य र विचारको अन्तर्राष्ट्रिय आदानप्रदानलाई नयाँ उचाइ प्रदान गरेको सहभागीहरूको भनाइ थियो ।