समृद्धिका लागि जोखिम उठाउनैपर्छः मन्त्री शाह



सुर्खेत, ३ असार । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजिवविक्रम शाहले सरकार, कर्मचारी, निजी क्षेत्र र बैंक तीनवटै क्षेत्रले लगानीको जोखिम नलिएसम्म कर्णालीलाई आर्थिक रुपले सम्पन्न गराउन नसकिने बताउनु भएको छ । सरकारी अनुदान तथा वित्तीय संस्थाको कर्जा लगानीमा साना तथा महिला उद्यमीको पहुँच पुग्न नसकेको स्वीकार उहाँले यस्तो बताउनु भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको आयोजनामा बुधबार वीरेन्द्रनगरमा भएको महिला उद्यमी मेला तथा पिचिंग कार्यक्रममा उहाँले जोखिम मोल्न नचाहने प्रवृत्तिकै कारण कर्णाली गरिब र पछाडि परेको उहाँले जिकिर गर्नुभयो ।

हाट बजारमा राखिएका महिला उद्यमीका उत्पादनको अवलोकन गर्दै उनीहरुका संघर्षका कथा सुनिसकेपछि मन्त्री शाहले भन्नुभयो, स्थानीय उत्पादन प्रयोगका गर्ने मात्र होइन गौरवका गर्नेपनि हो, यिनको प्रवद्र्धन गर्नुपर्छ । सरकारले दिने अनुदानका लागि कार्यविधि कडा हुने अनि बैंक तथा वित्तीय संस्थाले शहर बजार बाहेकका जग्गामा लगानी गर्न आनाकानी गर्ने हुनाले कर्णालीमा उद्यम फस्टाउन नसकेको मन्त्री शाहको भनाई थियो ।

सरकार ब्याज अनुदानलगायतका लागि वर्षेनी बजेट छुट्याईरहेको भएपनि उक्त बजेट लक्षित वर्गसम्म नपुगीकनै फ्रिज हुने परिपाटी अन्त्य गर्न आफु थप सक्रियताका साथ लाग्ने प्रतिवद्धतापनि उहाँले जनाउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पदमबहादुर शाहीले तीन तहका सरकार भएपनि निजी क्षेत्रको समस्या सुन्ने र सम्वोधन गर्ने अभिभावक सरकारको अभाव अझैंपनि खट्किरहेको गुनासो गर्नुभयो। लगानीका लागि तयार रहेको निजी क्षेत्र नीतिगत र प्रक्रियागत व्यवधानका कारण झन झन् हतोत्साही बन्दै गएको टिप्पणी गर्दै उहाँले सुधारका लागि निजी क्षेत्रले दिएका सुझाव कार्यान्वयन गरिदिन आग्रह गर्नुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघ कर्णालीका अध्यक्ष धनबहादुर रावतले ठूला उद्योग कारखानाको सम्भावना तत्कालै नरहेको कर्णालीमा घरेल तथा महिला उद्यमीहरुको सबलीकरण आवश्यक रहेको औंल्याउनुभयो ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोग तथा इन्क्यूबेटर एकेडेमीको प्राविधि सहयोगमा यसअघि सञ्चालन गरिएको तीन दिने बुट क्याम्पमा सहभागीमध्येबाट छानिएका ८ जना महिला उद्यमीका उत्पादन प्रदर्शनीका लागि हरेक शनिबार शुभ होटल परिसरमा कर्णाली हाट बजार लाग्ने गरेको छ ।