कालिकोटमा पहिलो पटक बहुक्षेत्रिय पोषण योजना लागू


कालिकोट – कालिकोटका ५ वटा गाविसमा पहिलो पटक बहुक्षेत्रीय पोषण योजना लागू हुने भएको छ । मातृ शिशुको पोषण अवस्थामा सुधार ल्याउन सो योजनाको लागू भएको हो ।

जिल्लाको खाद्य सुरक्षा तथा पोषणको असुरक्षा भएका गाबिसमा यो योजना लागू भएको छ । जिल्लाका खिन धौलागोह, नानीकोट, बदालकोट र सुकाटिया पोषण योजना लागू भएको हो ।

देशका अन्य क्षेत्रमा सन् २०१३ बाट यो कार्याक्रम लागू भएको भएपनि कालिकोटमा सन् २०१६ बाट पाँच वटा गाबिसमा यो कार्यक्रम संचालनमा आएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका सिनियर अहेब कटक महतले बताए । ‘बहुक्षेत्रीय पोषण योजना अन्तर्गत मातृ शिशुको पोषण अवस्थामा सुधार ल्याउनका लागि बहुक्षेत्रीय प्रयास थालिने छ ।’ उनले भने,–‘खाद्य तथा पोषणको असुरक्षालाई आधार मानेर गाविसहरु छनौट गरिएको हो ।’

आर्थिक, सामाजिक, पोषण तथा अन्य अवस्थाहरु कमजोर रहेका गाविसमा बहुक्षेत्रीय पोषण योजना लागू गरेर जिल्ला शिक्षा, स्वास्थ्य, विकास निर्माणमा पछाडि परेको जिल्ला भएकाले बालबालिकाका लागि अतिनै महत्वपूर्ण रहेको बहुक्षेत्रीय पोषण योजनाको सुरुवात सिनियर अहेब महतले बताए । ‘बहुक्षेत्रीय पोषण योजना अन्तगर्त शिक्षा, कृषि, पशुपक्षी, खानेपानी तथा सरसफाई, महिला तथा बालबालिका, जिल्ला विकास समितिले स्वास्थ्य क्षेत्रमा कार्यक्रम संचालन गरिने छ ।’ उनले भने,– ‘बच्चाको ८० प्रतिशतभन्दा बढी संवेगात्मक विकास दुईवर्षभन्दा अघि नै भइसक्ने हुनाले गर्भवती आमा र दुई वर्षसम्मका बच्चालाई पोषिलो खाने कुरा खुवाउने योजना रहेको छ ।’

कर्णाली अंचलका पाँच वर्ष मुनिका बालबालिकाको कुल संख्यामध्ये कम तौलका १६ प्रतिशत, पुड्कोपन भएका ६४ प्रतिशत तथा ख्याउटेपना ४० प्रतिशतमा रहेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ ।

साभारः स्वास्थखबर पत्रिका