धनगढीको सेन्चुरी बैंकमा गोली प्रहार


१३ जेठ, धनगढी : प्रदेश नम्बर ७ को राजधानी धनगढीस्थित सेन्चुरी बैंकको शाखा कार्यालयमा गोली प्रहार भएको छ। धनगढीको ट्राफिक चोक नजिकै रहेको सेन्चुरी बैंकको शाखा कार्यालयमा बिहान अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक इन्द्र मल्लका अनुसार बैंक खुलेपछि पैसा निकालेर बाहिर निस्कँदै गरेका व्यक्तिमाथि गोली प्रहार भएको हो। घाइते ती व्यक्तिलाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको छ। लुटेराले गोली प्रहार गरी उनलाई लुट्न खोजेको मल्लको अनुमान छ।

लुटपाट भए नभएकोबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।