१० बर्षमा कर्णाली धनी प्रदेश बन्ने -नेता शर्मा


जेठ १९, सुर्खेत ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले नेकपाको सचिवालयको संख्या बढाउन नहुनेमा जोड दिनुभएको छ । उहाँले आफू पनि सचिवालयमा जाने इच्छामा नरहेको पनि खुलासा गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै शर्माले शक्तिशाली केन्द्रीय समिति, त्यसपछि पोलिटब्यूरो र स्थायी कमिटी हुँदाहुँदै सचिवालयको आबस्यकता नभएकोमा जोड दिनुभयो ।

प्रतिनिधिसभा सदस्य समेत रहेका नेता शर्माले नेकपाका प्रदेश, जिल्ला र तल्ला कमिटिको गठन आवश्यकताको आधारमा गरिने भन्दै विधानमा व्यवस्था भए अनुसार तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका कमिटिहरुलाई समायोजन गरिने जानकारी दिनुभयो । पूर्ब गृहमन्त्री समेत रहेका शर्माले २ वर्षमा महाधिवेशन गरीसक्ने पनि जानकारी दिनुभयो ।

डीपीआर निर्माणको काम प्रदेश सरकारले गर्ने बताउँदै नेता शर्माले कर्णाली प्रदेशलाई १० वर्षमा धनी प्रदेश निर्माण गर्ने गरी प्रदेश सरकार लागेकाले समृद्धिको सपना साकार पार्न सबैले सहयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो ।