
कसैको संघर्ष केवल व्यक्तिगत उन्नतिका लागि हुन्छ, तर कोही यस्ता पनि हुन्छन् जसको जीवन जनताको हित र समाज सुधारमा समर्पित हुन्छ । यस्तै एक विलक्षण उदाहरण हुनुहुन्छ । नवराज बोहोरा “भेडा” ।
म उहाँलाई बाल्यकालदेखि नै चिन्दछु । सानैदेखि उहाँमा देखिएको एक विशेषता हो । एकोहोरो कार्यशैली, जुन कहिलेकाहीं हामीले भेडा जस्तो व्यवहार भनेर जिस्किने गर्थ्यौँ । तर समयले देखायो, त्यही भेडा जस्तै देखिएको एकोहोरोपन नै उहाँको संघर्ष, स्थिरता र सामाजिक परिवर्तनको मूल आधार बन्न पुग्यो ।

सुर्खेतको सामान्य परिवारमा हुर्किएका नवराजको जीवनमा धेरै ठूलो भौतिक सुविधा छैन । उहाँका बुवा–आमा, दुई भाइ, एक बहिनी, एक श्रीमती र छोरी छन् । परिवारमा गहिरो आत्मीयता र सरल जीवनशैलीले उहाँलाई सामाजिक मूल्य र संवेदनामा गहिरो बनायो । जीवनको कुनै मोडमा पनि उहाँले लोभ–लालच वा व्यक्तिगत लाभको पछाडि नलागी समाजको हितमा आफूलाई समर्पित गर्नुभयो ।
नवराज बोहोराको समाजसेवाको यात्रा करिब १२–१५ वर्षअघि सुरु भएको हो । उहाँको सेवाको दायरा कुनै संस्थागत संरचनाभन्दा पनि व्यक्तिगत उत्तरदायित्वमा आधारित छ । सडकमा बेसाहारा भएर घिस्रिरहेका सामुदायिक पशुहरूलाई खाना र उपचार दिन, गर्मीमा बाटोमा हिँडिरहेका यात्रुहरूलाई निःशुल्क पानी वितरण गर्न, असहाय वृद्धवृद्धा वा गरीब बालबालिकाहरूलाई सहयोग गर्ने । उहाँको सेवाको सीमानै छैन ।
त्यस्तै एसईईमा अनुतीर्ण भएका विद्यार्थीहरूलाई आत्मबल दिने उद्देश्यले छात्रावाससहित निःशुल्क शिक्षाको व्यवस्था गर्नु, एउटा यस्तो कदम हो, जुन नेपालको ग्रामीण क्षेत्रमा अपवादको रूपमा लिइन्छ । शिक्षा, स्वास्थ, विपन्नता, पशु–सेवा, अपाङ्ग सहयोग, युवाको बेरोजगारी—प्रायः सबै क्षेत्रमा उहाँको सामाजिक लगाव देखिन्छ ।
उहाँले समाजसेवा कुनै मिडिया प्रचार वा अनुदान प्राप्तिका लागि गर्नुभएको छैन । उहाँ कुनै राजनीतिक दल, एनजिओ वा सरकारी निकायको सहयोगमा काम गर्नुहुन्न । तर केवल मानवता र कर्तव्यबोधबाट प्रेरित भएर अगाडि बढ्नु भएको हो ।

केवल सेवा गर्नुभन्दा अगाडि बढेर, नवराज जनताको हक र अधिकारका लागि कानुनी बाटो समात्न समेत पछि पर्नुहुन्न । जनसरोकारका विषयहरूमा जब स्थानीय सरकारले चासो दिन्न, उहाँले अदालतसम्म पुग्ने आँट गर्नु भएको छ । सरकारी उदासीनता, अनियमितता र जनताप्रति जिम्मेवार नभएको व्यवस्थाका विरुद्ध उहाँको कलम र कानुनी शक्ति सधैं सक्रिय रहन्छ । सामान्य मानिसको नजरमा ३१ दिन नाङ्गो खुट्टा हिँड्नु केवल पागलपन जस्तो लाग्न सक्छ । तर जब त्यसको पछाडि जनताको पीडा, कर्णालीको उपेक्षा, प्रदेशको वेथिती र नागरिकको विवशता हुन्छ । त्यो पागलपन क्रान्तिकारी बन्दछ ।
नवराज बोहोराले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि संघीय राजधानी काठमाण्डौंसम्मको ३१ दिने पैदल यात्रा गर्नुभएको छ, जहाँ उहाँले भ्रष्टाचार, स्वास्थ्य संकट, शिक्षा संकट, बेरोजगारी, सेवा प्रवाहको कमजोरी, बालबालिका र वृद्धहरूको बेवास्ता लगायत अनेकौँ पीडाहरू प्रधानमन्त्रीको कानमा पुर्याउने सपना बोक्नु भएको थियो । यस यात्रा एक प्रकारको साइलेंट मार्च थियो, जसमा कुनै झण्डा थिएन, कुनै नाराजुलुस थिएन । थियो त केवल एक निर्दोष नागरिकको संघर्षले भरिएको सपना कथा व्यथा ।

३१ दिनको पैदल यात्रा पछि संघीय राजधानी काठमाडौं पुग्नुभएका नवराज बोहोराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना कुरा राख्ने योजना थियो । तर अफसोच! जनताको पीडा बोकेर आएका नागरिकलाई प्रधानमन्त्रीले समय नदिएर फिर्ता पठाउनुभयो । यस घटनाले राज्य संयन्त्रको नागरिक प्रतिप्रतिको गैर-जिम्मेवारीपन देखाएको छ ।
उहाँको दुःख केवल आफ्नो यात्रा असफल भएको थिएन, त्यो त कर्णालीको अपमान जस्तो महसुस भयो । राजधानीमा जनताको समस्या लिएर आएकालाई शान्तिपूर्ण रूपमा सुन्ने समय नभएको शासनप्रणालीमा जनताको विश्वास कमजोर हुनु स्वाभाविक हो ।
दुःख, अस्वीकृति, र उपेक्षा उहाँका लागि बाटो छोड्ने कारण होइन । नवराज बोहोराले देशप्रतिको विश्वास गुमाउनु भएको छैन । उहाँ अझै पनि सामाजिक सेवामा सक्रिय हुनुहुन्छ । अझ दृढ इच्छाशक्तिसहित, अझ गहिरो आत्मिक निष्ठासहित । उहाँको यात्राले हजारौँ युवाहरूलाई देश सेवा र समाजप्रतिको उत्तरदायित्वको चेतना दिएको छ ।

नवराज बोहोरा जस्ता व्यक्तिहरू कुनै पनि समाजका लागि प्रेरणाका स्रोत हुन् । भौतिक सम्पन्नता नभए पनि, उहाँको चेतनाको धनी जीवनले आजको पुस्तालाई ‘केही गर्न सकिन्छ’ भन्ने आत्मबल दिन्छ । समाज रूपान्तरण महल बनाउने काम होइन, ईटा–ईटाले गारो उठाउने काम हो । जसमा नवराजले आफ्नो ईटा यथाशक्ति राख्दै आउनुभएको छ । हामीले उहाँलाई भेडा जस्तो भनेर जिस्क्याएका थियौँ । तर आज त्यो भेडा जस्तै देखिने एकोहोरोपन नै कर्णालीको आवाज बन्न पुगेको छ । त्यसैले, यो समाजले यस्ता व्यक्तिहरूको मूल्यांकन शब्दले मात्र होइन, साथ र समर्थनद्वारा गर्न जरुरी रहेको छ ।
नवराजले संघीय राजधानी काठमाण्ठौंको बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्ने पक्का थियो उहाँ बालुवाटार प्रधानमन्त्री निवास पुग्न केवल २ सय मिटरको दुरीमा नै सादा पोशाकका प्रहरीले रोकेको नवराज बताउनुहुन्छ सुरक्षाका कारणले बालुवाटारमा भेट गर्न असमर्थताको कुरा सुनाइयो र सिंहदरवार प्रधानमन्त्री कार्यालय लगियो तर हात लाग्य शुन्य भने झै भयो उहाँले प्रधानमन्त्रीलाई भेटेर आफ्ना खाली खुट्टा पैदल यात्राका कथा सुनाउन पाउनु भएन । उहाँलाई खाली खुट्टा नहिड्नकालागि नेपाली ब्राण्डको गोल्ड स्टार जुत्ता दिएर पठाइयो । जुन जुता उहाँ सँगै भेट गर्ने र सल्लाह गर्दै जुत्ताको साइज सोधिएको थियो । अब हेरौं नवराजको यात्रा कता मोडिने हो ?

Prawash Kumar Shakya । ६ असार २०८२, शुक्रबार २१:१० बजे