डा. उपेन्द्र देवकोटालाई पत्रः विज्ञानभन्दा परको ज्ञानमा समर्पित गर्नुहोस् !


श्रद्धेय डाक्टरसाहेब,
असीम श्रद्धा !
अचानक तपाईं उपचारको लागि बेलायत गएको खबरले हामी मर्माहत भएका थियौं । त्यो समयमा अनेक हल्ला चले । जस्तो, तपाईंलाई पित्तनलीको क्यान्सर भएको, पित्तथैलीको क्यान्सर भएको, प्यान्क्रियाजको क्यान्सर भएको, यहाँ उपचार सम्भब नभएकोले बेलायत गएको आदि… ।

त्यसको केहि समयपछि पारिवारिक स्रोतलाई उधृत गर्दै उहाँलाई क्यान्सर नभएको, सामान्य जाँचपछि आराम गरेको जस्ता खण्डन पढ्न पाइयो । चिकित्सा बिज्ञानको विद्यार्थीको नाताले मलाई त्यतिबेला लागेको थियो– तपाईंलाई पक्कै पनि नेपालमा उपचार सम्भब नभएको रोग लागेको छ र त्यो रोग प्राणघातक क्यान्सर नै हो । मैले बुझ्छु, हामी चिकित्सकलाई बिरामी छु भन्ने अधिकार छैन, हैसियत छैन । बिरामी छु भन्नेबितिकै हाम्रो पेशा, पेशागत संस्था, हामीले हेरिरहेका बिरामी, मेडिया तथा आम जनतामा हाम्रो हैसियत (?) उजागर हुन्छ ।

यति लामो समय बेलायतमा बस्दा मलाई लागेको थियो, तपाईं सर्जरी र केमो आदिको चक्रब्युहमा हुनहुन्छ र त्यो कर्कटलाई जितेर त्यो मिठो मुस्कान छर्दै विमानस्थलमा देश र जनतालाई अभिबादन गर्दै आउनुहुनेछ । तर, विधिको बिडम्बना, तपाईं अन्तिम सत्य बोल्न बाध्य हुनुभयो, हामी निरिह भएर सुन्न विवश भयौं ।

यो संसारमा लाखौं यस्ता रोगहरु छन् जसलाई चिकित्सा बिज्ञानले अहिलेसम्म पत्ता लगाएको छैन, लाखौं उपचारका स्रोत छन् जसलाई चिकित्सा विज्ञानले अहिलेसम्म पत्ता लगाउन सकेको छैन

डा. उपेन्द्र देवकोटा नेपालको मात्र नभएर एसियाकै, अझ भन्ने हो भने विश्वकै अमूल्य गहना हो, न्युरो सर्जरीमा कोशेढुंगा हो । उ डाक्टरमात्र हैन, समाजको गहिरो अन्वेषक पनि हो, राजनीतिको गहिराइमा डुबेको ह्वेल माछा पनि हो । उ स्पष्ट बक्ता हो, आफ्नो मर्जीको मालिक हो, स्वाभिमान र गर्वको शिखर पनि हो ।

शायद घमण्डी पनि हो । आजीवन राजनीति गर्नेहरु नपुगेको टाकुरामा पुगेको खेलाडी पनि हो । नेसनल ट्रमा सेन्टर, चिकित्सा बिज्ञान प्रतिष्ठानलगायत उपलब्धिको जननी पनि हो । उ ह्वेल माछो हो, त्यसैले कहिल्यै पनि कुवामा अटाएन, पोखरीमा अटाएन, नदीमा अटाएन अनि समुद्रमा पनि अटाएन । उ हामी सबैको अनुकरण एवम् इर्श्याको पात्र पनि हो ।

हामी सबै मृत्युको गन्तब्य बोकेर जन्मिएका हुन्छौं । हरेक पलपलमा मृत्युलाई जित्दै, नाघ्दै, अस्वीकार गर्दै, अटेर गर्दै.. हामीहरु उसैको गन्तब्यतिर दौडिरहेका हुन्छौं । जन्मेपछि मान्छेमात्र हैन हरेक प्राणी, बस्तु तथा सृष्टिको अन्त्य हुन्छ ।

जीवन निमेषमा चलेको हुन्छ भने मृत्यु असिमित आयु र अनन्त दायरामा बाँचेको हुन्छ । हाम्रो त के कुरा भयो र ? भगवान राम, कृष्ण, अल्लाह, येशु लगायत देवता समेत मृतुन्जयी बनेनन् ।

मृत्यु अनपेक्षित, चामत्कारिक एवम् सर्वाधिक पीडादायी हुन्छ । दुर्घटनामा परेर, हृदयाघात भएर, मस्तिष्कघात भएर वा अन्य प्राणघातक रोगबाट मृत्यु हुनपनि सक्थ्यो । त्यो भएको भए तपाईंलाई आफूले मृत्युवरण गर्दै गरेको वा गरेको थाहासमेत हुने थिएन ।

अहिले कमसेकम आफ्नो आयु थाहा छ, उपचार गर्न नपाएको गुनासो छैन, ब्यवहार मिलाउन नपाएको पारिवारिक पीडा छैन… । ठूलो कुरा त चमत्कारको आशा छ । यो संसारमा लाखौं यस्ता रोगहरु छन् जसलाई चिकित्सा बिज्ञानले अहिलेसम्म पत्ता लगाएको छैन, लाखौं उपचारका स्रोत छन् जसलाई चिकित्सा विज्ञानले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।

आशा अझै बाँकी छ ! सम्भावनाको दियो निभेको छैन ।

श्रद्धेय डाक्टरसाहेब । आफूलाई म मर्दैछु भन्ने कहियै नसोंच्नुहोला । आफूले सम्पूर्ण जीवन छोंटो समयमै भोगेकोमा गर्व गर्नुहोला । तपाईं यस्तो उचाइमा पुगेको व्यक्ति हो जसको लागि ओर्लनुको विकल्प थिएन । तर तपाईंलाई विकल्पको स्वर्ण अवसर प्राप्त भयो । अनिच्छापूर्वक बिश्रामको बाध्यतामा पर्नु जस्तो ठूलो उपलब्धि केहि हुँदैन ।

यहाँ स्वयम् गहन अध्येता पनि हो तसर्थ मैले स्टेफेन हकिंगदेखि जगदीश घिमिरेको उदाहरण दिनु आवश्यक छैन । दुईवर्षे आयुको ग्रेस थपेर घर फर्किएका जगदीश घिमिरेले अन्तर्मनको यात्रा नलेखेको भए एक वर्ष पनि उनको लागि टाढाको कुरा हुन्थ्यो, आत्मबल र गन्तब्यको क्रेजले उनी ८ वर्ष सक्रिय जीवन बाँचे । त्यति मात्र हैन, जमराको रस तथा खुर्पानीको बिउ खाएर क्यान्सर जितेका धेरै व्यक्तिहरु हाम्रो समाजमा छन् । स्वमुत्रपानले समेत क्यान्सरलाई ढालेका मुक्केबाज पूर्वमन्त्री गणेश शाह लगायत व्यक्तिहरु हाम्रो समाजमा अझै सक्रिय छन् ।

तसर्थ एक रति पनि हार नखानुहोला । आफूले गरेको संघर्ष, देखेको संसार, भोगेका पल एवम् त्यो अदभुत क्षमताको रहस्यलाई जस्ताको तस्तै लेखेर हाम्रो अनि भविष्यको पुस्तामा तपाईं बाँचिरहनुहुनेछ । गन्तब्यको सीमा भएको लेखाइभन्दा ठूलो थेरापी अरु केहि हुँदैन ।

कुनै पनि कुरा विकल्पविहिन हुँदैन भने विकल्पको प्रयोग किन नगर्ने ? के थाहा ? पित्तथैलीको क्यान्सरलाई भालुको पित्तले पो निर्मुल गर्छ कि ?

तपाईं अस्पतालमा बसेर ‘कठै’को पात्र बन्नुहुँदैन । आफ्ना र अरुका आँशुको द्रष्टा तथा भोक्ता बन्नु हुँदैन । यो कार्यले आत्मबलको घोडालाई लगाम लगाउँछ । तपाईं आफ्नो जन्मस्थान जानुहोस्, एकपटक रारा ताल पुग्नुहोस्, सगरमाथाको बेसक्याम्प पुग्नुहोस् अनि यो स्वर्गको कुनै टुक्रामा बसेर आत्मकथा लेख्नुहोस् ।

आधुनिक बिज्ञानले दिएको एक्सपायर डेटलाई खारेज गरेर यस्ता साधकको भर पर्नुहोस् जसले संजीवनीबुटी, हिमाली जल, प्राणी उत्पादन आदिको प्रयोग गरेर कहिल्यै नमर्ने महर्षी बनाउन सकुन् । त्यो सम्भब छ । कुनै पनि कुरा विकल्पविहिन हुँदैन भने विकल्पको प्रयोग किन नगर्ने ? के थाहा ? पित्तथैलीको क्यान्सरलाई भालुको पित्तले पो निर्मुल गर्छ कि ?

प्रकृतिलाई बचाइरहेको हिमाली जडिबुटीले तपाईंलाई नबचाउनुको कुनै कारण छैन । तन्त्र, मन्त्र अनि देवालय दर्शनमा विश्वास गर्नुहोस् । योग र ध्यानले आफ्नो समाधि तय गर्ने ऋषि जन्मेको यो पवित्र भूमिमा उपचारको कुनै कमि छैन, कमि छ त हाम्रो विश्वासको । तसर्थ प्रयत्नले छोड्नुअघि हामीले प्रयत्नलाई छोड्नु हुँदैन ।

अहिले तपाईं साँच्चै सर्वहारा हुनुभएकोछ । जित्नलाई संसार छ, हार्नलाई केहि छैन । तपाईंको साथमा हामी करोडौं जनता छौं । हामीहरु तपाईंको दीर्घजीवनको लागि मुटुभित्र दीप बालेर प्रार्थना गरिरहेका छौं । डा. देवकोटा ! उठ्नुहोस्, हिँड्नुहोस् अनि बिज्ञानभन्दा पर रहेको ज्ञानमा आफूलाई समर्पित गर्नुहोस् ।

तपाईंलाई आफ्नो आयुको २० बर्ष दिन तयार प्रशंशक
रवीन्द्र समीर
लेखक र जनस्वास्थ्य बिज्ञ

अनलाइनखबरबाट