तिन गजल


                       १
बस्ने रहर हुँदा हुँदै पनि मनमा बस्न पाएन
एक लासले धित मरुन्जेल आँगनमा बस्न पाएन

आफैलाई रेट्ने प्रतियोगिता राख्यो समयले
बिजयको माला पनि मेरो गर्धनमा बस्न पाएन

मलाई सुखले भन्दा दुखले पहिले अंगालेको हो
ढिलो आउने कुनै कुरा मेरो जीवनमा बस्न पाएन

बर्षौ नआएको छोरो आज आगो लिएर आयो
आगो बाहेक अरु बा को बदनमा बस्न पाएन

एउटा उद्घोषक जस्तो प्रेमी अकस्मात ओझेल पर्यो
जसले आफ्नै मायाको समापनमा बस्न पाएन                                         गजलकार प्रदिप रोदन


म जलेको कति देख्न पाउँछ कति देख्न पाउँदैन
सलाईले आफैले गरेको प्रगती देख्न पाउँदैन

तिमीलाई देख्न पाइन भनेर के गुनासो गरौँ ?
आफ्नो आँो आफ्नै आँखाको क्षति देख्न पाउँदैन

महोदय तब सम्म धामी झाँक्रीहरु जन्मिरहन्छन्
जब सम्म दुर्गमको बिरामीले ओखती देख्न पाउँदैन

डाक्टरले कुन बचाऊँ भने कै दिन ऊ पागल बन्यो
जसले अब कि सन्तान कि श्रीमती देख्न पाउँदैन

यसर्थ पनि मलाई ठूलो बन्ने रहर नलागेको हो
हजारले बजार खुजुराले जति देख्न पाउँदैन

तिमी अर्कै कि भयौ भन्ने खबर कानमा पर्यो
त्यही दिन बाट मेरो जिन्दगी डुबानमा पर्यो

पुरा भयो परालहरुको गुन्द्री बन्ने सपना
जब चोटै चोट खाएको हतासो तानमा पर्यो

आफ्नो आफ्नो भाग्य भनेको यहि हो सायद
एक फूल मन्दिरमा पर्यो अर्को चिहानमा पर्यो

यसर्थ बर्तमानलाई जितेर पनि म हारेँ
हिजोको याद भोलिको चिन्ता बर्तमानमा पर्यो

मैले बाँच्नकै लागि रंग फेरेको हुँ महोदय
यस्तै भो एक बकुल्लो कागको बथानमा पर्यो