बजेट बितरणमुखी भएको आरोप, उत्पादन क्षेत्रमा लगानी भएको मन्त्री ज्वालाको दाबि


असार ४, सुर्खेत ।

कर्णाली प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले महत्वकांक्षी बजेट आफूले ल्याएको बताउनु भएको छ । प्रदेश सरकारले प्रस्तुत् गरेको पहिलो पूर्ण बजेट अरुले जे भने पनि केही महत्वकांक्षी घाटामा भएपनि बजेट प्रस्तुत् गरीएको बताउनु भएको हो ।

काँक्रेबिहार मिडिया प्रालिले सुर्खेतमा आयोजना गरेको बजेट माथिको छलफलमा बोल्दै मन्त्री ज्वालाले अघिल्लो बजेटको खर्च बिबरण नआएकोमा प्रमूख प्रतिपक्षले आपत्ति जनाएको बिषयमा केन्द्रित हुँदै त्यो रातो किताबमा ल्याउने तयारी भएपनि आपत्तिका कारण छलफल पश्चात छुटेको कुरा सुधार गर्ने निर्णय गरीएको जानकारी दिनुभयो ।

मन्त्री ज्वालाले सडकलाई पहिलो प्राथमिकता दिएको भन्दै आर्थिक अनुसासन कायम गर्दै श्रोतको खोजी गरेर भएपनि घाटा बजेटको पूर्ति गरीने बिस्वास दिलाउनु भयो । उहाँले बृद्धबृद्धा, महिला, दलित, मातृशिशुका क्षेत्रमा ल्याएको बजेटलाई बितरणमुखी भएको भन्न नहुने भन्दै केही महत्वकांक्षी नभए सम्म विकासले फड्को मार्न नसक्ने पनि दाबि गर्नुभयो । हरेक वर्षको असार १ गतेबाट निर्माण कार्य बन्द गराउने पनि सो अबसरमा मन्त्री ज्वालाले घोषणा गर्नुभएको छ ।

कार्यक्रममा प्रतिपक्षि दलका संसदिय दलका नेता जीवनबहादुर शाहीले बजेट कारण नभई संवैधानी त्रुटिका कारण सडक अबरुद्ध गरीएको भन्दै त्रुटिलाई सच्च्याउने सहमति सरकारले गरेको बताउनु भयो । उहाँले नागरीकको थाप्लोमा करको भारी बिसाउने गरी बजेट ल्याएको भन्दै बितरण मुखी बजेटले प्रदेश उभो नलाग्ने ठोकुवा गर्नुभयो । सरकारका सकारात्म कामलाई सहयोग गर्न आफूहरु प्रतिबद्ध रहेको स्मरण गराउँदै नेता शाहीले हचुवाको भरमा साना तिना योजनाहरु बाँडफाँड गर्नाले विकास सम्भव नभएको भन्दै दृघकालीन ठूला योजनाहरुलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिनुभयो । नेता शाहीले सरकारले केन्द्रको भन्दा साना र स्थानीय तहको भन्दा ठूला आयोजना निर्माण गर्नुपर्नेमा सानासाना योजनामा समेत हात हाल्नु राम्रो नभएको बताउनुभयो ।

काँक्रबिहार मिडिया प्रालिका अध्यक्ष शुसील शर्माले सञ्चालन गर्नुभएको छलफलमा नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष सूर्यमणि गौतमले संविधानको धारा २०७ को उपधारा २ अनुरुप प्रक्रिया नपुगेको भन्दै बजेटमा संबैधानिक त्रुटि भएको बताउनुभयो । उहाँले कार्यान्वयन गर्न सक्ने खालका योजनाहरुलाई प्राथमिकता दिनुपर्ने भन्दै विदेशी लगानी भित्र्याउन पनि लाग्नु पर्नेमा सुझाउनु भयो ।

कार्यक्रममा सहप्राध्यापक तिर्थ चलाउनेले बजेट उत्पादनशिल क्षेत्रमा लगानी गर्दा राम्रो हुने भन्दै सरकारले बजेट बितरण गर्दा टुक्रे योजना भन्दा बृहद योजनामा लगानी गर्नुपर्ने सुझाव दिनुभयो । केन्द्रबाट अनुदान ल्याएर अनुत्पादक क्षेत्रमा बजेट बिनियोज गर्नु राम्रो पक्ष नभएको उहाँको भनाइछ ।