कालिकोटमा स्वास्थ्यकर्मीहरुको आन्दोलन फिर्ता


जिल्ला अस्पताल कालिकोट

बिस्नप्रसाद न्यौपाने
माघ २३ । कालिकोट ।
जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा.कौशल अलीलाई नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरुले कालो मोसो दलेर दुर्व्यबहार गरेको बिरोधमा आन्दोलित कालिकोटका सम्पुर्ण स्वास्थ्यकर्मीहरुले मंगलबारबाट आन्दोलन फिर्ता लिएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा दोषीलाई कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले प्रतिबद्धता जनाएपछि ३ दिनदेखी आन्दोलित स्वास्थ्यकर्मीहरुले आन्दोलन फिर्ता लिएका हुन् ।

गत शुक्रबार कालिकोट जिल्लाको रास्कोट नगरपालिकालाई पुर्ण खोपयुक्त नगरपालिका घोषणा समारोहमा सहभागी हुन रास्कोट गएका जिल्ला स्वास्थ्य प्रमुख डा.अलीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालोमोसो दलेर दुर्व्यवहार गरेको बिरोधमा कालिकोटका स्वास्थ्यकर्मीहरुले सोमबारदेखी जिल्ला अस्पताल लगायत जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा ईमरजेन्सी सेवा बाहेक सबै सेवाहरु बन्द गरेका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. कौशल अलीले आफुलाई दुर्व्यवहार गर्ने व्यक्तिका बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्बजानिक मुद्धा दर्ता गरेको बताए । उनले सोमबारदेखी ईमरजेन्सी बाहेकका सबै सेवाहरु अनिश्चितकालीन बन्द गरिएको भएपछि प्रमूख जिल्ला अधिकारीले दोषीलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएपछि आफुहरुले आन्दोलन फिर्ता लिन सहमत भएको बताउ ।

मंगलबारदेखी स्वास्थ्यकर्मीहरुले आन्दोलन फिर्ता लिएपछि जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा नियमित सेवाहरु संचालन भएका छन् । प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. कौशल अलीमाथि दुर्व्यवहार गर्ने व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउने बताए ।

डा. विरुद्ध स्थानीय आन्दोलित

यसैविच डाक्टरहरुको लापरबाहीका कारणले चन्द्रा शाहीको ज्यान गएको भन्दै शाहीका आफन्तहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनुका साथै मंगलबार कालिकोट जिल्लाको सदरमुकाम बन्दको आव्हान गरे ।

बजार बन्दको आव्हान गरेर बजारमा स्थानिय नागरिकहरु आएपछि प्रशासनले पीडितका माग पुरा गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि बन्द फिर्ता भएको कालिकोटका प्रमूख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले बताए ।

डा. कौशल अली र महेश्वर गोसाईंलाई कारबाहीको माग गर्दै मृतक चन्द्रा शाहीको श्रीमान् शुक्रदीप शाहीले प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् । पीडित पक्षले चन्दा शाहीको अप्रेशनमा संलग्न डाक्टरहरुको टिमलाई कारबाही, जिल्ला अस्पतालमा चन्दा शाहीको नाममा सुविधा सम्पन्न प्रसुति गृह स्थापना, नावालकलाई पालन पोषण तथा शिक्षाको लागि राज्यले नै व्यवस्था मिलाउनु पर्ने, जिल्ला अस्पतालमा तत्काल नयाँ जनशक्तिको व्यवस्थापन गर्नुपर्ने माग राख्दै आएका छन् ।

लापरबाहीका कारण डाक्टरलाई जनकारबाही गरेका हौँः नेकपा

नेकपा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी मनीलाल ऐडी (रणदीप) ले आफूहरूले नै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. कौशल अलीलाई जनकारबाही गरेको बताए ।

डा. अलीकै कार्यकालमा सुत्केरी महिलालाई गलत अप्रेसनका कारण चन्दा शाही लगायत ३ महिलाको अकालमा ज्यान गएको, जनताहरुले अस्वीकार गर्दा पनि जिल्लामा पुन हाजिरी भएको, पोस्टमार्टम तथा केस फारम भर्दा सेवाग्राहीबाट घुस लिने गरेको आरोप लगाए ।

त्यस्तै, स्वास्थ्यको रकम हिनामिना गरेको, कर्मचारीलाई हेपेको, केही समय अगाडि जिल्लामा फैलिएको भाइरलको महामारी नियन्त्रणमा चासो नदिएको र जिल्लाका ग्रामीणस्तरमा रहेका स्वास्थ्य संस्थामा समयमै औषधि नपठाउँदा नागरिकले सास्ती खेप्नु परेकाले आफूले कालोमोसो दलेर स्वागत गर्न बाध्य भएको सेक्रेटरी ऐडीले बताए ।