यो सरकार असफल भए देश डरलाग्दो अवस्थामा जान्छः प्रधानमन्त्री


४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा एमालेले सरकारको नेतृत्व गरेका बेला केही राम्रा काम गर्न नसकिए जनतामा भयानक निराशा उत्पन्न हुने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, यो सरकार असफल भएमा नेपालको भविष्य डरलाग्दो अवस्थामा जानेछ, जनतामा भयानक निराशा छाउनेछ ।”
भूकम्पपछिको अवस्था, नाकाबन्दी र तराईमा आन्दोलनका बाबजुद सरकारले मुलुकको प्रगति र समृद्धिका लागि केही प्रयास भइरहेको उनले बताए ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले लोकतान्त्रिक नीति र सामाजिक न्यायपूर्ण विचारका हिसाबले अहिले मुलुकको निर्णायक शक्तिका रुपमा एमाले रहेकाले जनताका बीचमा त्यही भावनाका साथ एकीकृत भएर काम गर्न सांसद्हरुलाई निर्देशन दिए ।  देशलाई दूरगामी असर पर्ने र देशको एकता खण्डित हुने कुनै कुरामा जान नसकिने उनले स्पष्ट पारे ।
नेपाली सेना व्यावसायिक संस्था भएकाले यसको लोकतान्त्रीकरणको विषय उठाउनु सान्दर्भिक नभएको पनि बताएका छन् ।
बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेपाललाई हिमाल, पहाड र तराई राष्ट्रका नाममा विभाजित गर्ने षड्यन्त्र भएको भन्दै चालू राजनीतिक वार्ताका क्रममा त्यसप्रति सचेत रहन सुझाव दिए ।
अर्का नेता माधवकुमार नेपालले संविधान संशोधनमा कांग्रेसले संसदमा पेस गरेको संशोधनले नयाँ बखेडा उत्पन्न हुन सक्ने औँल्याए ।
बैठकमा तराई मधेसमा आन्दोलनरत दलसँग भएका पछिल्ला वार्ता र छलफलका विषयबारे उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भीमबहादुर रावलले जानकारी गराउनुभएको थियो ।
साभारः अनलाइन खबर