स्तब्ध जुम्ला !


श्रावण ४, जुम्ला

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै जुम्ला पनि स्तब्ध भएको छ । बिहीबार दिनभर तनावग्रस्त बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले सुनसान छ ।

चिकित्सा शिक्षामा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस पढाइ तत्काल सुरु गर्नुपर्ने लगायतका मागहरु राखेर २० दिनसम्म प्राडा. गोविन्द केसी आमरण अनसन बसेको स्थलमा प्रहरीले बल प्रयोग गरेपछि रणभूमि जस्तै देखिएको थियो।

प्रहरीले अस्पतालको गेटमा रहेका चिकित्सक र विद्याथीलाई सुरुमै लाठी बर्साउँदै भित्र प्रवेश गरेपछि तनाव श्रृजना भएको थियो।हिजो दिनभर रणभूमि बनेको अस्पताल अहिले सुनसान जस्तै देखिएको छ। भौतिक संरचनासहित फर्निचर, बेड र उपकरणहरुमा समेत क्षति पुगेको छ। प्रहरीले बल प्रयोग गरेर अस्पताल भित्रका गेटहरु फुटाएको थियो। अस्पतालमा रहेका चिकित्सक, विद्यार्थी, बिरामीका कुरुवा र बिरामीलाई समेत लाठी बर्साएको प्रहरीको त्रास अहिले पनि पूर्ण रुपमा हटिसकेको छैन।

अस्पतालमा आकस्मिक सेवा बाहेकका अन्य सबै सेवाहरु ठप्प छन्। आकस्मिक कक्षमा पनि बिरामीहरु त्रसित बनेर बस्नु परेको बिरामीका कुरुवाले बताए। हिंसात्मक क्षेत्र जस्तै देखिएपछि बिरामीहरु पनि अस्पताल गएका छैनन्।

बिरामीले समेत शान्त मनले उपचार गर्न नपाउने यो कस्तो लोकतन्त्र आएको हो बुझ्न नसकिएको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले बताइन्। ‘सरकारले अस्पताल जस्तो संवेदना क्षेत्रलाई युद्धभुमी बनायो,’ उनले भनिन्, ‘यो घटनाको जिम्मा सरकारले लिनुपर्छ। प्रदेश सरकार र संघीय सरकार मुख्य दोषी हुन्। अस्पताल भित्रै छिरेर यति धेरै बल प्रयोग गर्नु आवश्यक थिएन।’  कान्तिपुरअनलाइनबाट